वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

नेपालको आर्थिक बृद्धिदर ४.४ प्रतिशतः एडिबी

अर्थटुडे
२०८१ चैत्र २७, बुधबार

काठमाडौ । एसियाली विकास बैंक (एडिबी) ले चालु आर्थिक बर्षमा ४.४ प्रतिशतको आर्थिक बृद्धि हुने प्रक्षेपण गरेको छ । एडिबीको पछिल्लो प्रमुख प्रकाशन एसियन डेभलपमेन्ट आउटलुक (एसियाली विकास परिदृश्य) अनुसार आन्तरिक मागमा आएको बृद्धि निजि क्षेत्रमा भएको सुधार, पर्यटन क्षेत्रमा देखिएको बृद्धि लगायतका विभिन्न कारणले नेपालको आर्थिक बृद्धिदर गत आर्थिक बर्षको तुलनामा बृद्धि हुने छ । गत आर्थिक बर्ष नेपालको आर्थिक बृद्धिदर ३.९ प्रतिशत थियो ।

“गत आर्थिक वर्षमा संकुचित भएका प्रमुख आर्थिक क्षेत्रहरू, जस्तै, औद्योगिक उत्पादन, निर्माण क्षेत्रहरू पेट्रोलियम तथा कच्चा पदार्थको मूल्यमा स्थिरता, लगानीयोग्य पुँजीको उपलब्धताले चालु आर्थिक वर्षमा विस्तार हुनेछन् । साथै घट्दो ब्याजदरले सबै उत्पादनमूलक क्षेत्रहरूमा कर्जा विस्तारका लागि मार्गप्रशस्त गरेको छ ।” एडिबी नेपालका प्रमूख अर्थशास्त्री यान हासनले भने ।

त्यस्तै एडिबीले कुल गार्हस्थ उत्पादनको वृद्धिदर आगामी आर्थिक वर्ष २०८२/८३ मा ५.१ प्रतिशत रहने प्रक्षेपण गरिएको छ, जुन सरकारले पुँजीगत बजेट कार्यान्वयनमा गर्ने सुधार, पर्यटन र यससँग सम्बन्धित सेवाहरूमा प्रगति तथा यान्त्रिकरण र उन्नत सिञ्चाई सुविधा तथा अनुकुल मनसुनमा निर्भर कृषि उत्पादकत्व वृद्धिबाट निर्देशित हुनेछ जनाएकाे छ ।

चालु आर्थिक वर्ष २०८१/८२ मा मुद्रास्फीतिमा कमी आउनेछ । मुद्रास्फीति केन्द्रीय बैंकले तोकेको सीमामा रहने अनुमान एडिबीको छ । त्यस्तै कृषि उपज संकलन राम्रो रहने अनुमान र सबैभन्दा बढी आयात गरिने मुलुक भारतमा मुद्रास्फीति दरमा आएको गिरावटले मुद्रास्फीतिमा कमी आउने अनुमान पनि एडिबीको छ ।

एडिबी नेपालका अर्थशास्त्री मानवर खड्काले विद्युतीय उर्जा, आइटीको क्षेत्र र पर्यटनको क्षेत्रमा नेपालमा धेरै राम्रो सम्भावना हुदाहुदै पनि आगामी दिनहरु थप जोखिमपुर्ण हुन सक्ने बताए ।

उनले भने, “भन्सार महशुल बढ्ने क्रम जारी रहेमा विश्वव्यापी आर्थिक मन्दी आउन सक्छ, जसले नेपालको पर्यटन आम्दानी र विप्रेषणलाई असर पु¥याउने सम्भावना रहन्छ जसकाे प्रत्यक्ष असर नेपालको रेमिट्यान्स पर्दछ ।” अमेरिकाले पछिल्लो समयमा लिएको मन्सार महसुल नीतिबाट नेपालले फाइदा लिन सक्ने पनि खड्काले बताए । अमेरिकाले नेपालाई बेसिक भन्सार दर (१० प्रतिशत मात्र ) लगाएको छ । यो छिमेकी मुलुकहरुको तुलनामा निक्कै कम हो । नेपालले चाहेमा पश्मिना चिया लगायतका विभिन्न सामानहरुको निर्यात बढाएर फाइदा लिन सक्ने उनको तर्क छ ।

त्यस्तै क्लाइमेट चेन्जको असरले प्राकृतिक प्रकोपहरु बढ्ने, मनसुनमा आएको गडबढीका कारण कृषि क्षेत्रको उत्पादनमा कमी आउने लगायतका विभिन्न समस्याले नेपालको आर्थिक बृद्धिलाई असर पार्न सक्नेप्रति पनि खड्काले संकेत गरे ।

विभिन्न समस्याका बाबजुत पनि नेपालको अर्थतन्त्रको संरचनामा नै परिवर्तन गरी उर्जा, पर्यटन र आइटी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्नै हो भने नेपालको अर्थतन्त्र थप सकारात्मक हुने पनि खड्काले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ