काठमाडौं । चालु आर्थिक वर्षको जेठसम्ममा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब रुपैयाँ भन्दा बढीको व्यापार गरेका छन् । आर्थिक गतिविधिमा केही सुधारपछि निर्जीवन बीमा कम्पनीहरुको ब्यवसायमा पनि सुधार देखिएको हो ।नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको जेठ मसान्तसम्म क म्पनीहरुले २५ लाख ८७ हजार ३१५ बीमालेख जारी गरी ३९ अर्ब तीन करोड ४४ लाख बराबरको बीमा शुल्क संकलन गरेका छन् ।
कम्पनीहरुले संकलन गरेको बीमा शुल्क गत आवको जेठसम्मको तुलनामा ७ दशमलव ४६ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीहरुले २३ लाख ८ हजार ७९२ बीमालेख जारी गरी ३६ अर्ब ३२ करोड ९९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका थिए ।
प्राधिकरणको तथ्यांक अनुसार जेठ मात्रै कम्पनीहरुले दुई लाख २८ हजार ८०४ बीमा लेख बिक्री गरी तीन अर्ब ३९ करोड ६३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।
लघु बीमाको व्यापार करिब ८५ करोड
प्राधिकरणका अनुसार जेठसम्ममा चार लघुबीमा कम्पनीले करिब ८५ करोड रुपैयाँको व्यवसाय गरेका छन् । कम्पनीहरुले तीन लाख ३९ हजार २१४ बीमालेख जारी गरी ८४ करोड ९५ लाख ८९ हजार रुपैयाँ बीमा शुल्क उठाएका हुन् ।
यस अवधिमा नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी २३ करोड ७९ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको छ । त्यस्तै प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले २२ करोड १० लाख, स्टार माइक्रोले २० करोड १७ लाख र ट्रस्ट माइक्रो इन्स्योरेन्सले १८ करोड ८७ लाख रुपैयाँ बराबरको व्यवसाय गरेको प्राधिकरणले जनाएको छ ।
प्रतिक्रिया