काठमाडौं । क्षेत्रियस्तरको कर्णाली डेभलपमेन्ट बैंकको अनियमितता लुकाउन नेपाल राष्ट्र बैंकका कर्मचारीलाई साढे १० लाख रुपैयाँ भन्दा बढी नगद र आईफोन उपहार दिएको खुलेको छ ।
राष्ट्र बैंकका कायम मुकायम निर्देशक भुवन सिंह बस्नेतसहितले कर्णाली बैंकमा २०७५ वैशाख २७ गतेदेखी २०७५ जेठ २ गतेसम्म स्थलगत अनुगमन निरीक्षण गरेका थिए । जसमा बस्नेतसहित सहायक निर्देशक टेकराज भण्डारी टोली प्रमुख र सहायक निर्देशक राजन प्रसाद रेग्मी सदस्य थिए ।
बस्नेतले बैंकबाट आर्थिक तथा भौतिक लाभ लिएर वास्तविक समस्या ढाकछोप गरेको अभियोगपत्रमा उल्लेख छ । बस्नेत हाल प्रहरीको हिरासतमा छन् ।
बैंकका वित्त प्रमुख बेद प्रकाश सिंह ठकुरीले बैंकमा भएको अनियमित आर्थिक कारोबार बाहिर नजाओस भनी लुकाउन छिपाउन अनुगमन प्रमुख बस्नेतको माछापुच्छे बैंकमा रकम जम्मा गर्न लगाएको, उनलाई मोवाइल उपहार दिएको प्रहरीमा बयान दिएका छन् ।
वस्नेतको खातामा जम्मा भएको १० लाख ८४ हजार २५० रुपैयाँमध्ये कर्णाली बैंकबाट दुई पटक गरी ८५ हजार जम्मा भएको देखिएपनि बाँकी ९ लाख ९९ हजार २५० बैकबाट नियमानुसार खर्च लेखी भुक्तानी दिएको नदेखिएको अभियोगमा उल्लेख छ ।
प्रहरीसँगको बयानमा भने बस्नेतले भने बैंकमा तालिम प्रदान गरेवापत एक लाख ८५ हजार रुपैयाँ बुझेको, श्रीमति कविता केसीको नाममा रहेको कार ८ लाख २५ हजारमा हजारमा बैंकलाई बिक्री गरकोे बयान दिएका छन् ।
अदालतमा पेश गरिएको अभियोगपत्रमा भने बस्नेतले बेचेको भनिएको बा ४ च ७८२६ नं. को सवारी साधन बैंकको अभिलेखमा बैंकको सम्पत्तिको रुपमा अभिलेख भएको नदेखिएको उल्लेख छ । यसैगरी बैंकका कर्मचारी विकास विकले तत्कालिन सिइओ राजन्द्रवीर रायको निर्देशनमा कामु निर्देशक बस्नेतको खातामा एक लाख रुपमा नगद जम्मा गरेको वयान दिएका छन् ।
यसैगरी रायले पनि बस्नेतलाई आइफोन ७ दिएको भनी सनाखत गरिदिएको उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले बैंक, वित्तीय संस्थाहरुबाट दैनिक, साप्ताहिक, मासिक, अर्धबार्षिक तथा बार्षिक रुपमा विभिन्न विवरण मागेर अनुगमन तथा सुपरिवेक्षणका गर्दै आएको छ । बैंकहरुले पठाउने विवरणमा आधारमा केन्द्रीय बैंकले नियमित रुपमा गैरस्थलगत तथा जोखिमको आधारमा स्थलगत निरिक्षण गरी सुधारात्मक कारवाहीहरु गर्ने गरेको छ ।
तर, केन्द्रीय बैंकले नियमित रुपमा हेरिरहेको कर्णाली डेपलपमेण्ट बैंकमा तीन अर्ब २० करोड रुपैयाँ अनियमतितामा स्थलगत अनुगमनमा खटिएका कर्मचारीसहित १०९ जना विरुद्ध मुद्दा दायर भएपछि केन्द्रीय बैंकको अनुगमन तथा सुपरिवेक्षणको विश्वसनियतामाथी नै प्रश्न उठेको छ ।
प्रतिक्रिया