काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा ९२.४५ प्रतिशतले खुद नाफा बढाएको छ । चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गर्दै अघिल्लो वर्ष १ अर्ब ४ करोड रुपैयाँ नाफा कमाएको बैंकले गत वर्ष सोही अवधिमा नाफा दोब्बर वृद्धि गर्दै २ अर्ब १ करोड रुपैयाँभन्दा बढी कमाएको हो ।
खुद नाफा वृद्धि हुनुको प्रमुख कारण इम्पेरमेन्ट चार्जमा आएको उल्लेख्य कमी हो। अघिल्लो वर्ष १ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज गत वर्ष घटेर ३५ करोड ३७ लाख रुपैयाँमा सीमित भएको छ । यसले बैंकको नाफामा ठूलो टेवा पुगेको देखिन्छ ।
बैंकले जोखिम व्यवस्था वापत छुट्याएकाे रकम फिर्ता भएपछि नाफा बढेको हो ।
यसैगरी गत आवमा बैंकले वितरणयोग्य नाफा ९९.९१ प्रतिशतले बढाउँदै ३ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी पु¥याएको छ । अघिल्लो वर्ष ऋणात्मक (ऋणमा) रहेको वितरणयोग्य नाफा समेत सुधारिएर १ अर्ब ७ करोड रुपैयाँभन्दा बढी कायम भएको छ।
बैंकको हालको चुक्तापूँजी ११ अर्ब ६२ करोड रुपैयाँभन्दा बढी, शेयर प्रिमियममा ३ करोड रुपैयाँ र जगेडा कोषमा ६ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी रहेको छ ।
निक्षेप संकलनमा पनि बैंकले १६ प्रतिशतभन्दा बढी वृद्धि गर्दै १ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह करिब १२ प्रतिशतले वृद्धि भई १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।
यसैगरी बैंकको खराब कर्जा ३.८६ प्रतिशतबाट ३.८३ प्रतिशतमा झरेको छ भने प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३१ पैसा र प्रतिशेयर नेटवर्थ १६३ रुपैयाँ ८० पैसा कायम भएको छ ।
प्रतिक्रिया