काठमाडौं । तिहार नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाले सहरलाई उज्यालो र आकर्षक बनाउने अभियानलाई तीव्रता दिएको छ । महानगरले सहरका प्रमुख ६२ वटा चोकमा हाइ मास्ट बत्ती जडानको काम अन्तिम चरणमा पुगेको जनाएको छ । यो परियोजना तिहारअघि नै पूरा हुने भएकाले राजधानीको रात अब झन् सुरक्षित र मनमोहक बन्ने अपेक्षा गरिएको छ ।
महानगरको सार्वजनिक निर्माण विभागका महाशाखा प्रमुख रामचन्द्र नेपालीका अनुसार, ७० चोकमध्ये पहिलो चरणमा ६२ चोकमा पोल गाडी बत्ती जडानको काम भइरहेको छ । “तिहारको उल्लासमा काठमाडौं झन् उज्यालो देखियोस् भन्ने उद्देश्यले निर्धारित समयभन्दा अघि काम पूरा गर्न लागिएको हो,” नेपालीले बताए ।
यी बत्तीहरू १ हजार वाट क्षमताका आधुनिक हाइ मास्ट लाइट हुन्, जसलाई सेफ्टवेयर प्रणालीमार्फत नियन्त्रण गर्न सकिने व्यवस्था गरिएको छ । आवश्यकताअनुसार प्रकाशलाई चर्को वा मधुरो बनाउन सकिनेछ । २१ चोकमा १२.५ मिटरका पोल र ४१ चोकमा १६ मिटर अग्ला पोल जडान हुँदै छन्, जसमा क्रमशः ६ र ८ वटा बत्तीहरू रहनेछन् ।
करीब ९ करोड ९९ लाख रुपैयाँ लागत अनुमान गरिएको परियोजना सार्वजनिक खरिद प्रक्रियामार्फत ९ करोड ८५ लाख २२ हजार १४४ रुपैयाँमा सम्झौता गरिएको हो । सम्झौता २०८१ पुस २३ गते निर्माण पक्षसँग भएको र २०८२ पुस ३० गतेभित्र काम सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
तिहारको स्वागतसँगै महानगरको यो ‘उज्यालो काठमाडौं’ अभियानले राजधानीलाई आधुनिक, सुरक्षित र सौन्दर्यले भरिपूर्ण सहरका रूपमा स्थापित गर्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया