वि.सं. २०८२ कार्तिक ८
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२४ वर्षको प्रतीक्षा अन्त्य हुँदै

नागढुंगा सुरुङ अब जनताका लागि खुल्दै

अर्थटुडे
२०८२ कार्तिक ८, शनिबार

काठमाडौं । २४ वर्षअगाडिदेखि सुरु भएको सपना “नागढुंगा सुरुङमार्ग” अब साकार हुने दिन नजिक पुगेको छ। सरकारले लिएको लक्ष्यअनुसार सबै काम समयमै पुरा भए, १ जनवरी २०२६ (१७ पुस २०८२) बाट सर्वसाधारणले यो सुरुङमार्ग हुँदै यात्रा गर्न पाउनेछन्।

आयोजनाको ९७ प्रतिशत काम सकिएको छ, तर धादिङतर्फको प्रवेशद्वारमै रहेको पहिरोले अझै टाउको दुखाइ थपेको छ। आयोजनाका अनुसार मनसुनले काममा अवरोध पुर्‍याएको र जमिन एक मिटर धस्सिएको स्थानमा दीर्घकालीन समाधान खोज्नुपर्ने भएको छ।
जापानी निर्माण कम्पनीले तिहार बिदा सकिएलगत्तै पहिरो नियन्त्रण र अन्तिम काम तीव्र गतिमा अघि बढाउने तयारी गरेको छ। अहिले वित्तीय प्रगति ९० प्रतिशत पुगिसकेको छ।

जापानको सहुलियत ऋण र व्यवस्थापन योजना

सरकारले पहिलो चरणमा लिएको जापानी ऋण अपुग भएपछि थप ५ अर्ब ७० करोड येन बराबरको सहुलियत ऋण लिने निर्णय गरिसकेको छ। सुरुङ सञ्चालन र व्यवस्थापन जिम्मा निजी कम्पनीलाई दिने तयारी समेत सुरु भएको छ। तिहाररछठ बिदा पछि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने र योग्य कम्पनी छनोटका लागि ४५ दिनको समय दिइने बताइएको छ।

यातायातका लागि शुल्क पनि तय भइसकेको छ, जुन सुरुङ खुलिसकेपछि मात्र लागू हुनेछ। यसको व्यवस्थापन सडक बोर्डले गर्नेछ।

दशैंअघि सरकारले बस सञ्चालनको तयारी गरे पनि, आवश्यक सुरक्षा संयन्त्र र उद्धार उपकरण अभावका कारण यात्रु आवतजावत रोकिएको थियो। “सुरुङ सञ्चालनको अनुभव हामीसँग छैन,” प्रमुख नेपाल भन्छन्, “जोखिम मोल लिएर बस चलाउनु उचित थिएन।”

के–के बनेको छ नागढुंगामा?

२,६८८ मिटर लामो मुख्य सुरुङसँगै २,५५७ मिटरको रेस्क्यु टनेल, फ्लाइओभर, पुल, अन्डरपास र १२ वटा अन्य संरचना बनेका छन्।
त्रिभुवन राजपथसँग जोड्न २।८७ किमि पहुँचमार्ग बनाइएको छ।
सञ्चालनमा आएपछि नौबिसेदेखि काठमाडौं आउन लाग्ने समय घटेर २० मिनेटमा झर्नेछ। तर, मोटरसाइकल र ज्वलनशील पदार्थ बोकेका सवारीलाई अनुमति दिइने छैन।

यदि सबै योजना अनुसार भयो भने, २०२६ को सुरुवातसँगै काठमाडौं प्रवेश गर्ने यात्रुहरू २० मिनेटमै नागढुंगाबाट भित्रिनेछन् — नेपालको सडक इतिहासमा एउटा नयाँ अध्याय सुरुङमार्गबाट सुरु हुनेछ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ