काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल पर्यटन बोर्डका निलम्बित कार्यकारी प्रमुख सुवास निरौलासहित २३ जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले शुक्रबार विशेष अदालतमा ६९ करोड विगो दावी सहित मुद्धा दायर गरेको छ ।
बिहीबारै मुद्दा दायर गर्ने भनेपनि ६७१ पृष्ठ लामो अभियोग पत्र अध्ययन गर्न नभ्याइने भन्दै विशेष अदालतले फिर्ता पठाएको थियो । आयोगका अनुसार यो मुद्धामा बहालवाला दुई सचिव र पूर्व सचिव सहित २३ जना प्रतिवादी रहेका छन् ।
प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्त भएपछि अख्तियारले भ्रष्टाचार अभियोगमा सबैभन्दा ठूलो रकम बिगो दाबी गर्दै मुद्दा दायर गर्न लागेको यो पहिलो हो ।
बहालवाला सचिवमा वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल र नेपाल कानुन आयोगका सचिव रञ्जनकृष्ण अर्याल रहेका छन् । पूर्वसचिवमा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सुशील घिमिरे छन् । पौडेल र अर्याल वोर्ड सञ्चालक समितिका सदस्य थिए भने घिमिरे अध्यक्ष थिए ।
अर्थ मन्त्रालयका सहसचिव डिल्लीप्रसाद शिवाकोटी र वनमन्त्रालयका सहसचिव मेघबहादुर पाण्डे विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।
कसको नाममा कति रकम विगो दावी ?
अयोगका अनुसार सबैभन्दा धेरै निलम्वित कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाको नाममा रहेको छ । उनको नाममा आयोगले ३३ करोड ७२ लाख ५५ हजार रुपैयाँ विगो दावी गरेको छ ।
यसैगरी टुरिजम बोर्डका कर्पोरेट महाशाखाका निमित्त निर्देशक अनिलकुमार दासको नाममा १७ करोड ९४ लाख र निर्देशक हिक्मतसिंह ऐरको नाममा १६ करोड ५४ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको आयोगको आरोप छ ।
त्यस्तै निर्देशक काशिराज भण्डारीको नाममा ३४ लाख ८४ हजार र पर्यटन वोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठको नाममा समेत २८ लाख ८० हजार रुपैयाँ विगो दावी गरी आयोगले मुद्धा दायर गरेको छ । आयोगले ४ प्रबन्धक सहित ५२ जनालाई मुद्धा दायर गरेको छ ।
प्रतिक्रिया