काठमाडौं । सरकारले सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्सा बनाउने घोषणा गरेको छ । व्यवस्थापिका संसदमा सरकारको नीति तथा कार्यक्रम पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सहकारीलाई अर्थतन्त्रको महत्वपूर्ण हिस्साका रुपमा विकास गर्ने र त्यसका लागि उत्पादन वृद्धि, रोजगारी सिर्जना र वितरणमा सहकारीको भूमिका बढाउने घोषणा गरिन् ।
यसैगरी उत्पादनमा सहकारीको भूमिका बढाउनका लागि सरकारले सहकारी खेतीलाई प्रोत्साहन गर्ने कार्यक्रम समेत नीति तथा कार्यक्रममा समेटेको छ । सहकारी खेतीलाई प्रोत्साहन गर्नका लागि यसअघि सहकारी विभागले अनुदान वितरण गरेपनि प्रभावकारी काम हुन सकेको छैन ।
सरकारको नीति कार्यक्रममा कृषि, उर्जा, उद्योग, यातायात, भौतिक पूर्वाधार, सूचना प्रविधि, पर्यटन र सहरी विकासलाई आर्थिक वृद्धिको रुपमा पहिचान गर्दै सार्वजनिक, निजी र सहकारी क्षेत्रको लगानी यसमा केन्द्रीत गर्ने समेत घोषणा गरिएको छ । यस्तै सरकार, नीजि, सहकारी र सामूदायिक साझेदारीमा वन पैदावार उद्योग स्थापना गर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले उत्पादन वृद्धि, रोजगारी सिर्जना र वितरणमा सहकारी संघसंस्थाको भूमिका बढाउने घोषणा गरेको छ । सहकारीहरु बचत तथा ऋण कारोबारमा मात्र केन्द्रीत भएको अवस्थामा सरकारले उत्पादन क्षेत्रमा लगाउने नीति सार्वजनिक गरेको हो ।
प्रतिक्रिया