वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

यस बर्षको सहकारी नारा “मर्यादित सहकारी, समुन्नत समाज”

अर्थटुडे
२०८१ चैत्र २, शनिबार

काठमाडौ । नेपालमा सहकारी अभियानको औपचारिक थालनी भएको ऐतिहासिक दिनलाई स्मरण गर्दै प्रत्येक वर्ष चैत २० गते मनाइने राष्ट्रिय सहकारी दिवसको यस वर्षको मुल नारा सार्वजनिक गरिएको छ । राष्ट्रिय सहकारी महासंघ, नेपालले ६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा ‘मर्यादित सहकारी, समुन्नत समाज’ भन्ने मूल नारा घोषणा गरेको छ ।

पत्रकार सम्मेलनमा महासंघकी अध्यक्ष ओमदेवी मल्लले औपचारिक रूपमा यो थिम सार्वजनिक गरिन् । अध्यक्ष मल्लले सहकारी संस्थाहरूलाई पारदर्शिता, उत्तरदायित्व, र सुशासनका आधारमा मर्यादित बनाई मुलुकको समुन्नत समाज निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता रहेकाले सो थिम छनोट गरिएको बताइन् ।

सहकारी क्षेत्रको महत्व अझ बढिरहेको उल्लेख गर्दै संविधान सभा सदस्य मल्लले सरकारसँग सहकार्य गरी यस वर्षको राष्ट्रिय सहकारी दिवसलाई भव्य र सन्देशमूलक रूपमा मनाउने तयारी भएको जानकारी गराइन् ।

उनले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीको अध्यक्षतामा १५१ राष्ट्रिय सहकारी दिवस मुल आयोजक समारोह समिति बनेको समेत बनाइन् विश्वभरि नै सन् २०२५ लाई अन्तर्राष्ट्रिय सहकारी वर्षको रूपमा मनाइरहेको सन्दर्भलाई समेत दृष्टिगत गर्दै सहकारी अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ सो थिम तय भएको अध्यक्ष मल्लले जानकारी गराइन् ।

नेपालमा सहकारी अभियानको औपचारिक थालनी वि.सं. २०१३ साल चैत २० गतेबाट भएको मानिन्छ । सोही ऐतिहासिक दिनको स्मरण गर्दै वि.सं. २०५१ सालदेखि हरेक वर्ष चैत २० गतेलाई ‘राष्ट्रिय सहकारी दिवस’ का रूपमा मनाउने परम्परा बसेको हो । नेपालकै पहिलो आधिकारिक सहकारी संस्था बखान सहकारी संस्था, चितवन, वि.सं. २०१३ मा स्थापना भएको थियो, जसले नेपालको सहकारी अभियानलाई संस्थागत गर्ने आधार तयार ग¥यो । सहकारी आन्दोलनले देशभरका समुदायलाई संगठित गर्दै समृद्धि र सशक्तीकरणको मार्ग प्रशस्त गर्दै आएको छ ।

नेपालभर ३२,००० भन्दा बढी सहकारी संघ–संस्थाहरूमा ७३ लाखभन्दा बढी सदस्य आबद्ध छन् । सहकारी संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउने, वित्तीय पहुँच विस्तार गर्ने, तथा आर्थिक समृद्धि प्रवद्र्धन गर्ने महत्वपूर्ण भूमिका खेलिरहेका महासंघले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
सहकारी संस्थाहरूलाई मर्यादित, प्रतिस्पर्धात्मक र समाजमुखी बनाउने दिशामा महासंघको नेतृत्व महत्वपूर्ण हुनेमा विश्वास व्यक्त गरिएको छ । महासंघले सम्पूर्ण सहकारी संघ–संस्था तथा सरोकारवालाहरूलाई ६८औं राष्ट्रिय सहकारी दिवस भव्य रूपमा मनाउन समेत आह्वान गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ