वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

कस्तो हुनुपर्छ आगामी गभर्नर ? कसको क्षमता कति ? हेर्नुहोस् सर्वेक्षणसहित

शर्मिला ठकुरी
२०८१ माघ २३, बुधबार

काठमाडौँ । आर्थिक क्षेत्रमा सर्वाधिक शक्तिशालीमध्ये नेपाल राष्ट्र बैंकका गभर्नर तेस्रो स्थानमा रहने मानिन्छ । आगामी चैत २५ गते हालका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिने भएसँगै अब गभर्नर पदमा को आउलान् भन्ने चर्चा सुरु भएको छ ।

प्रधानमन्त्री र अर्थमन्त्रीपछिको शक्तिशाली स्थानका लागि आकांक्षीहरू शक्तिकेन्द्र धाउन थालेका छन् । अरूभन्दा आफू राम्रो भएको दावी गर्दै आकांक्षीहरू प्रधानमन्त्री निवासदेखि अर्थमन्त्रीको घरसम्म नै पुग्न थालेका छन् ।

‘वित्तीय स्थायित्व कायम राखी आर्थिक वृद्धिका लागि सहयोग पुर्याउन’ गभर्नरको भूमिका मुख्य रहन्छ । वित्तीय स्थायित्व र आर्थिक वृद्धिको एउटा मुख्य उपकरण मौद्रिक नीति हो । मौद्रिक नीति निर्माणदेखि कार्यान्वयनसम्मका लागि गभर्नरको भूमिका मुख्य हुने भएकाले यो पद शक्तिशाली मानिएको हो । मौद्रिक नीतिबाहेक विदेशी विनिमय दर नीति, नियामकीय नीतिलगायतको तर्जुमा गर्ने काम पनि केन्द्रीय बैंकको हो । केन्द्रीय बैंकको मुख्य चाबी गभर्नरको हातमा हुन्छ ।

देशको अर्थतन्त्र शिथिल रहेको छ, बैंकहरूको निष्क्रिय कर्जा बढेर बैकिङ क्षेत्र उच्च दबाबमा छ । यसको असर समग्र अर्थतन्त्रमा गहिरो पर्न सक्छ । यस्तो बेला नियुक्त हुन लागेको गभर्नर बैकिङ क्षेत्रमा देखिएको समस्याको दीर्घकालिन समाधान खोज्न सक्ने हुनुपर्ने बैंक तथा वित्तिय संस्था परिसंघका अध्यक्ष उपेन्द्र पौडेल बताउँछन् । त्यस्तै आगामी गभर्नरमा इमान्दारिता र उच्च नैतिकता पहिलो प्राथमिकता भएको उनको दावी छ ।

त्यस्तै पुर्व गभर्नर चिरन्जीवी नेपाल अहिले देशको अर्थतन्त्रमा शिथिलता आएको बताउँदै आगामी गभर्नर देशको मौद्रिक र वित्तिय नीतिमा राम्रो ज्ञान भएको हुनुनपर्ने बताउँछन् । उनी भन्छन्,‘आगामी गभर्नर मौद्रिक नीतिका साथ साथै वित्तिय नीतिमा पनि पोख्त हुनुपर्छ नत्र मौद्रिक नीतिको व्यवस्थाले वित्तिय नीति असफल समेत हुन पुगी आर्थिक बृद्धिमा असर गर्न सक्छ । ’
त्यस्तै उनले केन्दीय बैंकमा संस्थागत सुशासन राम्रो भएको बताउँदै भईरहेको संस्थागत संरचनालाई थप मजवुत बनाउने खालको गभर्नर अवको आवश्यकता रहेको बताए ।

देशको समग्र अर्थन्त्रलाई दिशा प्रदान गर्नुपर्ने केन्द्रीय बैंकको गभर्नर मौद्रिक र समष्टिगत अर्थतन्त्र, विनिमय दर र वित्तीय प्रणालीबारे पर्याप्त सैद्धान्तिक र व्यावहारिक ज्ञान भएको व्यक्तिलाई गभर्नर बनाउनु पर्नेमा दुईमत छैन । समग्र अर्थतन्त्रको गहन अध्ययन र विश्लेषण, केन्द्रीय बैंकलाई भिजन दिन सक्ने र पर्याप्त अनुभव भएको व्यक्ति अहिलेको केन्द्रीय बैंकको खाँचो अर्थशास्त्री अन्जन पाण्डे बताउँछन् ।

त्यसैगरी स्टक ब्रोकर एसोसिएसन नेपालका अध्यक्ष सागरर ढकाल पनि आगामी गभर्नर पुँजी बजारप्रति सकारात्मक धारणा राख्ने र बजारलाई चलायमान बनाउने गरी नीति ल्याउन सक्ने चाहिएको धारणा राख्छन् ।

आगामी गभर्नरको दौडमा को को छन् भन्ने कुराहरु बाहिर आएपनि अब कस्तो गभर्नर बन्नुपर्छ भन्ने विषयमा कसैले पनि छलफल गरेको देखिँदैन । अहिले आफू अनुकुलका व्यक्तिलाई गभर्नर बनाउन र सोही अनुसारको नीतिगत व्यवस्था गरी फाइदा लिन चाहने व्यक्ति÷बिचौलिया सल्बलाउन थालेका छन् ।

अर्को नियामक निकाय नेपाल धितोपत्र बोर्डमा बिचौलियाले नै सरकारबाट नयाँ अध्यक्ष नियुक्ति गराउन सफल भएको कतै लुकेको छैन ।

त्यस्तै अर्थतन्त्र चलायमान बनाउनका लागि मेरुदण्डको भूमिका निर्वाह गर्ने नेपाल राष्ट्र बैंकमा बिचौलिया गभर्नर बनाउनका लागि लागी पर्नु उचित होइन । गभर्नर पदमा पुग्ने व्यक्तिको छनौट क्षमताको आधारमा हुनु जरुरी हुन्छ । तर सरकारले नियुक्त गर्ने भएपछि राजनीति हावी हुने निश्चित छ । त्यसै पनि बिचौलियाहरू आफू अनुकुल गभर्नर बनाउनका लागि सल्बलाएका हुन् ।
कुनै पनि व्यक्तिको नाम बाहिर आउने बित्तिकै उनीहरूलाई भेटेर प्रधानमन्त्री, अर्थमन्त्री, नेपाली कांग्रेसका सभापतिसँगको सम्बन्ध रहेको दावी गर्दै गभर्नर बनाइदिने नाममा रकम लिनसमेत खोजिरहेका छन् । अहिले कांग्रेस र एमालेको संयुक्त सरकार भएकोले पनि दुवै दलनिकट अर्थशास्त्रीदेखि चार्टड एकाउन्टेन्ट (सीए)सम्म गभर्नरको दौडमा छन् ।

केन्द्रीय बैंकको गभर्नर वित्तीय वा अर्थशास्त्र पृष्ठभूमिबाट आउँछन् । उनीहरूले अर्थतन्त्रका नशानशा पत्ता लगाउन सक्छन् त्यसैले उनीहरूलाई विशेष महत्व दिइन्छ । नेपालमा पनि अहिलेसम्म वित्त वा अर्थशास्त्र ब्याकग्राउन्डका गभर्नर भएका थिए । तर पहिलो पटक सीए (महाप्रसाद अधिकारी) गभर्नरमा नियुक्ति भएका थिए ।

अमेरिका, बेलायत, भारतलगायतका देशमा केन्द्रीय बैंक सीएलाई सुम्पिएको रेकर्ड छैन । गभर्नर अधिकारीलाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूले पूर्ण रूपमा साथ दिए । जसका कारण अर्थतन्त्र भिरबाट खस्नबाट भने जोगियो ।

अवकाशको मुखमा पुगेका नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट गभर्नरको दौडमा आफू नरहेको बताउँछन् । ‘मेरो नाम गभर्नरको दौडमा नराखिदिनुहोस्, मिडियाले मेरो नाम राखेपछि बेकारका मानिसहरू भेट्न खोज्छन्, व्यर्थको दुख दिन्छन्,’ उनी भन्छन्, ‘मेरिट बेसमा गभर्नर बनाउने हो भने त, कुनै समस्या नै हुन्न ।’ आफूअनुकूलका व्यक्तिलाई गभर्नर बनाउनका लागि बिचौलियाको ठूलो चलखेल गर्छन् भन्ने कुरा उनको यो भनाइले प्रस्ट पारेको छ ।

आफू गभर्नर भएमा सबै समस्या समाधान गर्न सक्ने जादुको छडी आफूसँग रहेको झैँ गरी आकांक्षीहरू गभर्नरका लागि साम, दाम, दण्ड, भेदलगायतका सबै रणनीति प्रयोग गर्न थालेका छन् ।

अर्थटुडेले ‘आगामी गभर्नर कस्तो हुनुपर्छ ?’ भनेर २० जना विभिन्न क्षेत्रमा ख्याति कमाएकाहरूसँग नमुना सर्वेक्षण गरेको थियो । सो सर्वेक्षणमा अर्थविद्, बैंकर्स, दातृ निकाय, पूर्व गभर्नर, नेपाल राष्ट्र बैंकका कर्मचारी, चार्टर्ड एकाउन्टेन्टलगायत सहभागी थिए ।
सर्वेक्षणमा सहभागीमध्ये ९५ प्रतिशत उत्तरदाताले आगामी गभर्नर देशको अर्थतन्त्रको बारेमा राम्रो ज्ञान र अनुभव भएको साथै मौद्रिक र वित्तीय नीति स्पष्ट बुझेको मानिस चाहिने बताएका छन् । त्यस्तै उच्च नैतिकवान् व्यक्ति मात्र गभर्नरको लागि योग्य हुने शतप्रतिशतको धारणा छ ।

‘पछिल्लो समयमा कुनै पनि संस्थाका अधिकारीमा नैतिकताको खडेरी देखिएको छ, तर राष्ट्र बैंकको नेतृत्व लिने मानिसमा उच्च नैतिकता हुनु जरुरी छ । किनकी नियामक निकायमा बस्नेहरूलाई विभिन्न प्रलोभन आउने गर्छन् भने यो सार्वजनिक पद भएकोले नेतृत्वलाई हेरेर पनि धेरै आफ्ना व्यवहारमा परिवर्तन ल्याउछन्,’ अधिकांश सहभागीको धारणा यस्तै आशय आउने खालको छ ।

केन्द्रीय बैंकको जिम्मेवारी र कार्य सम्पादनबारे जानकार हुनुका साथै गरिमा कायम राख्न सक्ने मानिस गभर्नरको लागि योग्य हुने सर्वेक्षणमा सहभागीको धारणा छ ।

त्यस्तै असल आचरणसहित समन्वयकारी भूमिका निर्वाह गर्न सक्ने, वित्त नीति र मौद्रिक नीतिबीच समन्वय कायम राख्न सक्ने, सरोकारवालाहरूसँग स्पष्ट संवाद र सञ्चार गर्न सक्ने व्यक्ति अहिलेको आवश्यकता रहेको पनि उनीहरूको भनाइ छ ।
अर्थटुडेले अहिले चर्चामा आएका १५ जना व्यत्तिःको नाममा मत सर्वेक्षण गरेको थियो । सर्वेक्षण अनुसार ९० प्रतिशत

उत्तरदाताले राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठलाई गभर्नरको रुपमा हेर्न चाहेको बताए । देशको लागि राम्रो होस् भनेर सच्चा नागरिकको हिसाबले सोच्दा उनी गभर्नरका लागि योग्य हुने उनीहरूको भनाइ छ ।

श्रेष्ठले नेपाल राष्ट्र बैंकको उच्च तहमा बसेर मात्र काम गरेका छैनन् । विष्णु पौडेल अघिल्लो पटक अर्थमन्त्री हुँदा उनी आर्थिक सल्लाहकार भएका थिए । अहिले राष्ट्रिय योजना आयोगमा सदस्यको रुपमा काम गरिरहेका छन् । उनी लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षा पनि भइसकेका छन् । ‘उनीसँग योजनादेखि मौद्रिक नीति र वित्तीय नीतिको राम्रो जानकारी छ,’ सर्वेक्षणमा भाग लिएकामध्ये एक जना विज्ञको भनाइ छ ।

त्यस्तै १० प्रतिशत सहभागीले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई पहिलो स्थानमा राखेका छन् । ९० प्रतिशतले भने उनलाई दोस्रो स्थानमा राखेका छन् । डा. भट्ट पनि अघिल्लो सरकारको अर्थमन्त्री डा.प्रकाशशरण महत अर्थमन्त्री हुँदा आर्थिक सल्लाहकार थिए । केन्द्रीय बैंकलाई सही दिशानिर्देश गर्न उनको योगदान छ ।

त्यस्तै डा. निलम ढुंगाना तिम्सिना तेस्रो नम्बरमा पर्छिन् । उनलाई ८० प्रतिशतले तेस्रो स्थानमा राखेका छन् । ज्ञान, इमान्दारिता, मेहनतका आधारमा उनलाई तेस्रो स्थान दिएको उत्तरदाताहरूले बताएका छन् ।

त्यस्तै चौथो नम्बरमा रामेश्वर खनाल (हाल उनी उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक छन् । ) त्यस्तै पाचौँ नम्बरमा चिन्तामणि शिवाकोटी, छैटौँ नम्बरमा किरण कुमार श्रेष्ठ, सातौँमा राजनसिंह भण्डारी, आठौँमा बमबहादुर मिश्र, नवौँमा देवकुमार ढकाल, १० औँ स्थानमा शिवकुमार श्रेष्ठ, ११औँ स्थानमा लालशंकर घिमिरे, १२ औँ मा ज्ञानेन्द्र ढुंगाना, १३औँ नम्बरमा सुशील भट्ट, १४औँ रवीन्द्र पाण्डे र १५औँ नम्बरमा अशोक शेरचन रहेको सर्वेक्षणले देखाएको छ ।

उनीहरूले व्यक्तिगत सम्बन्ध भन्दा पनि देशलाई चाहिने गुणका आधारमा श्रेणी छुट्याएको उत्तर दिएका छन् । एक पूर्व बैंकरले भने, ‘मेरो सम्बन्ध बैंकरहरूसँग बढी छ, मलाई उनीहरू नै गभर्नर भएको ठूलो फाइदा हुन्छ, अहिलेकै डेपुटी गभर्नर भएपनि मलाई फाइदा नै हुन्छ । किनकी हाम्रो व्यक्तिगत सम्बन्ध छ । तर देशको हितमा हेर्ने हो भने ती सबै योग्य छैनन् ।’ गभर्नर देशको हितको लागि हुनुपर्नेमा दुईमत नरहेको पूर्व बैंकरले दावी गरे ।

कसको योग्यता कति ? हेर्नुहोस् बायोडाटा

प्रकाशकुमार श्रेष्ठ

श्रेष्ठले सन् २०१२ मा अमेरिकाको ‘द न्यु स्कुल युनिर्भसीटी’ बाट अर्थशास्त्रमा पिचएचडी गरेका छन् । उनको पिएचडीको शिर्षक ‘मनीटरी पोलिसी, द बैंकिङ सिष्टम एण्ड इन्टरनेसनल रिजर्भ इन स्मल ओपन इकोनोमिज’ थियो ।

२०७९ मा देशमा विदेशी मुद्राको संचिति घटेर गम्भीर मोडमा पुगेको बेलामा उनले नेपाल राष्ट्र बैंकको २०७९ माघको पहिलो साता बसेको संचालक समितिको बैठकमा सोही थेसिस देखाएर विदेशी विनिमय संचिति कसरी बढाउन सकिन्छ भनेर डिफेन्स गरेका थिए । सो समयमा उनी राष्ट्र बैंकको रिसर्च विभागको विभागीय प्रमूख थिए ।

त्यस्तै जव जव नेपाल राष्ट्र बैंक गम्भीर मोडमा पुगेको छ सोही सोही समयमा उनले आफ्नो तर्फबाट अहं भुमिका निर्वाह गरेका छन् । त्यस्तै उनले अष्ट्रेलियाको ‘कर्थिन युनिभर्सिटि’बाट सन् २००४ मा ‘इकोनोकिक्स एण्ड फाइनान्समा’मा स्नातकोत्तर गरे । त्यस्तै उनले सन् १९९६ मा त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले ‘ट्याक्स स्ट्रक्चर अफ नेपाल विथ रिफरेन्स टु डिष्ट्रिव्युसनल इम्प्याक्ट अफ इन्डाइरेक्ट ट्याक्सेस’ विषयमा थेसिस गरेका छन् । त्यस्तै उनले सन् १९९६ मा त्रिभुवन विश्वविद्यालयबाट पनि अर्थशास्त्रमा माष्टर गरेका छन् ।

डा. श्रेष्ठले सन् २०१४ देखि २०१८ सम्म त्रिभुवन विश्वविद्यालयको भिजिटिङ प्रोफेसर भएर काम गरे भने सन् २००९ देखि २०११ सम्म द न्युस्कुल फर सोसल रिसर्च अमेरिकाको टिचिङ एसिस्टेन्स भएर काम गरे । त्यस्तै उनले आर्थिक क्षेत्रसँग सम्बन्धीत विभिन्न ठाउँमा मुख्य भुमिकामा नै रहेर काम पनि गरेका छन् । उनी अहिलेसम्म विवाद रहित छन् ।

डा.गुणाकर भट्ट

भट्टले अमेरिकाको ‘स्कुल अफ वेने स्टेट युनिभर्सीटी’बाट अर्थशास्त्रमा पिएचडी गरे । ‘फाइनान्सियल डेभलपमेन्ट एण्ड हेल्थ क्यापिटल एक्युमुलेसन’ शिर्षकमा उनले पिएचडी गरेका छन् । त्यस्तै उनी त्रिभुवन विश्वविद्यालबाट एमबीएका ‘गोल्ड मेडलिष्ट’ पनि हुन् । त्यस्तै उनले अर्थशास्त्रमा पनि स्नातकोत्तर गरेका छन्। उनले नेपाल राष्ट्र बैंकमा २५ बर्ष बिताइसकेका छन् ।

उनले राष्ट्र बैंकका अधिकांश विभागमा रहेर काम गरेका छन् । उनले बैंकको प्रबक्ता समेत भएर काम गरिसकेका छन् । त्यस्तै उनले अर्थमन्त्रालयमा सल्लाकार भएर पनि काम गरेका छन् । उनी डा.प्रकाशशरण महत अर्थमन्त्री हुदा अर्थिक सल्लाकारको रुपमा काम गरेका थिए । उनले अमेरिकाको स्कुल अफ वेने स्टेट युनिभर्सिटिमा टिचिङ एसिस्टेन्स भएर पनि काम गरिसकेका छन्। त्यस्तै उनीसँग त्रिभुवन विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय लगायतका विभिन्न स्थानमा पढाएको अनुभव छ । उनी पनि अहिलेसम्म विवादरहित छन् ।

डा.निलम ढुंगाना तिम्सिना

हाल डेपुटी गभर्नर रहेकी डा.ढुंगानाले सन् २०१९ मा इन्डियाको ‘मेवारा युनिभर्सिटी’ बाट पिएचडी गरेकी हुन् । उनले ‘बैंक लेन्डिङ विहेवियर एण्ड मोनिटरी ट्रान्समिसन मेकानिजम इन नेप्लिज कमर्सियल बैंक’ शिर्षकमा विद्यावारिधी गरेकी हुन् । त्यस्तै उनले अष्ट्रेलियको ‘वुलङगन युनिभर्सिटि’बाट सन् २००४ मा अर्थशास्त्रमा स्नातकोत्तर गरेकी छिन् । उनी सन् १९९३ मा त्रिभुवन विश्वविद्यालयकाे एमबीएको गोल्डमेडलिष्ट हुन् । उनीसँग मौद्रिक व्यवस्थापनको भने निक्कै राम्रो अनुभव रहेको उनका सहपाठीहरू सुनाउछन्। उनी मेहनती हुनुका साथै उनमा पटक पटक कार्यवाहक गभर्नर भएर चलाएको अनुभव पनि छ ।त्यस्तै उनी वरिष्ठका साथै पहिलो महिला डेपुटी गभर्नर पनि हुन् ।

रामेश्वर खनाल

पूर्व अर्थसचिव खनाल हाल उच्चस्तरीय आर्थिक सुधार आयोगका संयोजक छन् । उनी अर्थसचिव रहदा तत्कालिन अर्थमन्त्री भरतमोहन अधिकारीले विनोद चौधरीको कम्पनीलाई कर छुट दिएको भन्दै राजीनामा दिएर चर्चित भएका थिए । निश्वार्थ भावनाले देशको हितमा काम गर्ने मानिसमा पर्ने खनालसँग राष्ट्र बैंकको संचालक समितिमा रहेर काम गरेको अनुभव छ । आफ्नो निर्णयमा अडिग रहन सक्ने क्षमता भएको मानिसको रुपमा चिनिएपनि राष्ट्र बैंकभित्रका कोर कामहरूबारे अनजान छन् उनी । उनले अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी विशेषगरी वित्तिय नीतिमा पोख्त छन् ।

चिन्तामणि शिवाकोटी

शिवाकोटी पूर्व डेपुटी गभर्नर हुन् । हाल उनी नेपाल राष्ट्र बैंकका संचालक समेत हुन् । अमेरिकाको साउदर्न न्यू हेम्पासायर युनिभर्सिटीबाट वित्तीय व्यवस्थापनमा स्नातकोत्तर हुन् । उनी पढ्नका लागि अमेरिका जादा उनले एक महिला सहकर्मीलाई आफ्नो तलव बुझ्ने अधिकार दिएका थिए । तर ति महिलाले पछि उनको तलव फिर्ता नगरेपछि विवाद बढेर तत्कालिन गभर्नर दिपेन्द्रबहादुर क्षत्रीकोमा समेत पुगेको थियो ।

किरणकुमार श्रेष्ठ

राष्ट्रिय बाणिज्य बैंकका पूर्व प्रमूख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जनप्रसासनमा स्नातकोत्तर गरेको हुन् । उनीसँग बैकिङ क्षेत्रको लामो अनुभव छ तर नियमनकारी निकायमा रहेर काम गर्ने अनुभव भने छैन ।

राजनसिंह भण्डारी

भण्डारी बैकर्स एसोसिएसनका पूर्व अध्यक्ष हुन् भने सिटिजन्स बैंकका हालका अध्यक्ष उनी सोही बैंकका प्रमुख कार्यकारी समेत भएर काम गरिसकेका छन् । उनी नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक पनि थिए । राष्ट्र बैंकबाट अवकास पाएपछि उनी सिटिजन्स बैंकका सिइओ भएका हुन् । उनलाई बैकिङ क्षेत्र र नियमनकारी निकाय दुवैको अनुभव छ । हक्की स्वभावका भण्डारीसँग सवै अनुभव भएपनि गभर्नरको लागि सही व्यक्ति नभएको उनका सहपाठीहरू नै बताउँन् । ‘उनी लहडमा आएर निर्णय गर्छन् नियमनकारी निकायको लागि यस्तो व्यक्ति उचित हुदैन ।’ उनका एक पूर्व सहकर्मीले भने । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर समेत गरेका छन् भने उनी चार्टड एकाउन्टेन्ट पनि हुन्।

बम बहादुर मिश्र

हालका डेपुटी गभर्नरको रुपमा रहेका मिश्र सवैभन्दा छिट्टो करियरमा अगाडी बढ्ने चलाख व्यक्तिको रुपमा चिनिन्छ । हालका प्रधानमन्त्री केपी शर्मा ओलीको चुनावी क्षेत्र झापाको दमकका भएकोले उनी अरुलाई उछिनेर डेपुटी गभर्नर भएका हुन् । उनी करियर सुरु गरेको १७ बर्षको अवधिमा कार्यकारी निर्देशक बने । उनले जापानको टोकियोस्थित नेशनल ग्राजुयट इन्स्टिच्युट फर पोलिसी स्टडीजबाट इकोनोमिक पोलिसीमा एमपीपी(मास्टर्स इन पक्लिक पोलिसी) गरेका छन् ।

त्यस्तै उनले एलएलबी समेत गरेका छन् । उनी बेला बेलामा विभिन्न विवादमा मुछिरहन्छन् । उनी जापानमा रहदा नक्कली इमेल आइडी बनाएर गलत हर्कत गरेको भन्दै नसिहत समेत पाएका थिए । त्यस्तै केही समयअघि उनलाई महिला आयोगले महिला हिंसामा उनलाई दोषी देखाएर रिपोर्ट बनाएको दावी गर्दै वडापालिकाले समाचार बनाएको थियो । मिश्रले महिला हिंसामा आफू दोषी नभएको भन्दै गभर्नर महाप्रसाद अधिकारीको कार्यकक्षमा आफ्नो वेइज्जत भएकोले मर्न पनि तयार रहेको भन्दै बचपना देखाएका थिए । त्यस्तै उनले डेपुटी गभर्नरको गरिमालाई कायम राख्न नसकेको गुनासो सर्वत्र छ ।

देवकुमार ढकाल

त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका ढकाल केही महिनाअघिमात्र नेपाल राष्ट्र बैंकको कार्याकारी निर्देशकबाट अवकाश भएका हुन् । उनलाई नि मिश्रलाई झै महिला हिसामा संलग्न भएको रिपोर्ट महिला आयोगले बनाएको दावी गर्दै वडापालिकाले समाचार बनाएको थियो । उनका भाई बालकृष्ण ढकाल सर्वोच्च अदालतको न्यायधिश रहेको तथा प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्रका भएकोले उनको पनि गभर्नर बन्ने सम्भावना रहेको विभिन्न मिडियामा आएका छन् ।

त्यस्तै गभर्नरको दौडमा रहेका अर्का पूर्व डेपुटी गभर्नर शिवराज श्रेष्ठ पूर्व अर्थमन्त्री डा.युवराज खतिवडाको पालामा विवादमा मुछिएका थिए । उनलाई सरकारले निलम्वन समेत गरेको थियो । पछि उनलाई लगाएको आरोप पुष्टी नभएपछि उनी पुनः बहाल भएका थिए ।

त्यस्तैगरी पूर्व अर्थसचिव लालशंकर घिमिरेसँग राष्ट्र बैंकको संचालक समितिमा बसेको अनुभव मात्र छ । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानासँग राष्ट्र बैंकमा काम गरेको साथै निजी क्षेत्रको बैंकमा काम गरेको अनुभव छ । तर उनी गभर्नर हुँदा कुनै एक घरानाको मात्र हालीमुहाली हुने सक्ने सम्भावना भएकाले समग्र अर्थतन्त्र भन्दा कुनै व्यापारिक घरानालाई पोस्ने नीति आउने हो कि भन्ने शंका उत्तिकै छ ।

त्यस्तै व्यवसायी तथा चर्चित बिचौलियाको इमेज बनाएका दिपक भट्टका दाजु सुशील भट्ट पनि गभर्नरको दौडमा छन् । उनीसँग लगानी बोर्डको सीइओको रुपमा काम गरेको अनुभव छ ।

रविन्द्रप्रसाद पाण्डेसँग राष्ट्र बैंकको संचालक भएको अनुभव छ । त्यस्तै प्रभु बैंकका प्रमूख कार्यकारी निर्देशक अशोक शेरचन लामो समयदेखि बैकिङ क्षेत्रमा कार्यरत छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

शर्मिला ठकुरी

ट्रेन्डिङ