काठमाडौं । नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा प्रा. डा. विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नर बनाउने निर्णय गरेको हो । मुलुकको अर्थतन्त्र गम्भीर मोडमा पुगेको बेलामा आर्थिक क्षेत्रकै व्यक्तिलाई सरकारले केन्द्रीय बैंकको नेतृत्व सुम्पेको हो ।
सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले अर्थमन्त्री विष्णु प्रसाद पौडेल संयोजकत्वको समितिले डा विश्वनाथ पौडेल, कामु गभर्नर निलम ढुंगाना तिम्सिना र पूर्व सचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको मध्ये डा पौडेललाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको जानकारी दिए ।
गभर्नर नियुक्त भएका पौडेल २०७९ को आमनिर्वाचनमा चितवन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन् ।
निर्वाचनमा पराजित भए पनि पुनः अध्यापन पेसामा फर्केका पौडेल नेपाली कांग्रेसको कोटाबाट मंगलबार राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भइसकेका पौडेल पद छाडेर प्रतिनिधिसभा सदस्य निर्वाचनमा भाग लिन गएका थिए ।
अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को आर्थिक सल्लाहकार भइसकेका पौडेल काठमार्डौ विश्लविद्यालय स्कुल अफ म्यानेजमेन्टका प्राध्यापक हुन् । पौडेलले अमेरिकाको क्यालिफोर्निया युर्निभर्सिटी बर्कलेबाट कृषि तथा स्रोत अर्थतन्त्रमा विद्यावारिधि गरेका छन् । प्राकृतिक स्रोत, श्रम अर्थशास्त्र तथा आर्थिक इतिहासमा पौडेलको दख्खल छ ।
प्रतिक्रिया