काठमाडौ । कर्णाली डेभलपमेन्ट बैंक घोटला प्रकरणमा नेकपा एमालेका केन्द्रिय सदस्य पशुपति दयाल मिश्र पक्राउ परेका छन् । तत्कालिन बैंकका अध्यक्ष रहेका मिश्रलाई प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले नेपालगंजबाट पक्राउ गरेको हो । बैंक घोटलाको घटाना बाहिरिएपछि फरार भएर भारत पुगेको अनुमान नेपाल प्रहरीले लगाएको थियो ।
मिश्रलाई बुधबार पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जानकारी दिएको छ ।
उनी पूर्वसांसद समेत हुन् । मधेश आन्दोलनबाट उदाएका नेता मिश्र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र नं. २ बाट उम्मेदवार थिए । स्वतन्त्र राजनीतिक समूह भन्दै उनी एमालेको सूर्य चुनाव चिह्नबाट चुनाव लडेका थिए । पछि एमालेमै प्रवेश गरेका मिश्र हाल एमाले केन्द्रीय सदस्य छन् ।
प्रहरीले यसअघि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी र बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ गरेको थियो । पक्राउ परेकाहरुलाई बाँकेमै राखेर अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ । सीआईबीबाट डीएसपी दान थापाको कमाण्डको एउटा टोली नेपालगञ्ज गएर अनुन्सन्धान गरिरहेको छ ।
बैंक सञ्चालक समिति अध्यक्ष डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा गठित विशेष छानबिन समितिले ठूलो रकम घोटाला भएको निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदन राष्ट्र बैंकमा पठाएपछि राष्ट्र बैंकले उक्त बैंकलाई समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन हातमा लिएको थियो ।
राष्ट्र बैंकले सोही रिपोर्ट थप अध्ययन गरि आवश्यक कारबाहीका लागि सीआईबीमा पठाएको थियो । बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको सीआईबीले जनाएको छ ।
प्रतिक्रिया