काठमाडौ । सांसदहरुले पाथिभरामा अहिले केवलकारको आवश्यकता नरहेको बताएका छन् । बुधबार सिंहदरबारमा बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरुले केवलकार जनताको लागि आधारभुत आवश्यकताभित्र नपर्ने भन्दै कुनै व्यपारी वा व्यवसायीको हित हुनेगरी जुनसुकै ठाउँमा पनि केवलकार बनाउन सरकारले सहमति दिनु उचित नभएको बताएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पाथीभरामा केबलकार निर्माण गर्न सरकारले निकुञ्जको पनि प्रयोग गर्न दिएर आफ्नो अख्तियारीको दुरुपयोग गरेको बताइन् । त्यस्तै उनले आवश्यक परेका ठाउँमा बाहेक जथाभावी रुपमा केवलकार बनाउनका लागि सरकारले रोक्न पर्ने समेत बताइन् ।
‘सरकारलाई केवलकार बनाउन मन लागेको हो या एक उद्योगपतिलाई ? प्रश्न गदै उनले भनिन्, “जनताले नमान्दा नमान्दै पनि पाथीभरामा निकुञ्जबाट नै छुट्टै राखेर त्यहाँ एउटा उद्योगपति, व्यापारीलाई सरकारले केवलकार बनाउन दियो । तर सरकारले दियो भन्दैमा हामीले छाड्न सक्दैनौ ।”
उनका अनुसार मज्जाले मोटरबाटो जाने मुक्तिनाथमा पनि पाथिभरामा केवलकार बनाउने समुहले नै केवलकार बनाउन लागेको छ । मुक्तिनाथमा पनि आवश्यकता भने छैन ।
समितिको बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले आधारभुत विकासका आयोजनामा केबलकार नपर्ने बताइन् । उनले आधारभुत विकासका आयोजनाहरुमा खानेपानी, शिक्षा, स्वास्थ्य, प्रशरण लाइन लगायत मात्रै पर्ने बताइन।
उनले भनिन, ‘आधारभुत विकासका आयोजनाहरुमा केबलकार पर्छ की पर्दैन ? खानेपानी, प्रशारण लाइन पर्दछ । सडक विकल्प विहीन अन्त कतैबाट जान मिलेन भने हो । केबलकार लेख्ने बित्तिकै कसरी आधारभुतमा आयो । शिक्षा, स्वास्थ्य, खानेपानी आधारभुतमा पर्छ ।’
समितिको बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल भएको हो ।
प्रतिक्रिया