काठमाडौ । टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम अर्थात् दुरसञ्चार ट्राफिक अनुगमन तथा ठगी नियन्त्रण प्रणाली (टेरामक्स) खरिद प्रकरणमा पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । विहिबार उनीहरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको आरोपमा मुद्धा दायर गरेको हो ।
उनीहरूमाथि कूल ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार १८२ रुपैयाँ बराबरको भ्रष्टाचार आरोप लगाइएको छ । बस्नेत सहित अख्तियारले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, प्राधिकरणका तत्कालीन सदस्य धनराज ज्ञवाली र टीका प्रसाद उप्रेतिसँग बिगो माग दाबीसहित मुद्दा दायर गरेका छ ।
यस्तै, प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, प्राधिकरणका निर्देशक विजय कुमार राय, उपनिर्देशक सुश बस्नेत, उपनिर्देशक हिरण्य प्रसाद वस्ताकोटी र अच्युतानन्द मिश्र, प्राधिकरणका निर्देशक सुरेन्द्रलाल हाडा, निर्देशक दिपेश आचार्य, उपनिर्देशक संदिप अधिकारीसँग पनि विगो माग दाबीसहित मुद्दा दर्ता भएको छ । अख्तियारले आरोपित सबैसँग जनही ३ अर्ब २१ करोड रुपैयाँ विगो माग गरेको छ ।
अख्तियारले परामर्शदाता भ्याराइज सोलुसन्स र सोका सिईओ जामल एनोउटी र भ्याराइज सोलुसन्सको स्थानीय एजेन्ट भनिएको कनेक्सन ट्रेडलिंक प्रालि काठमाडौं र सोका अध्यक्ष दिलिप कुमार गुरुङ तथा निर्देशक तेजप्रसाद खरेल विरुद्ध पनि मुद्दा दर्ता गरेको छ ।
प्रतिक्रिया