वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

विदेशी मुद्रा संचिती एक वर्षको आयात धान्न पर्याप्त

अर्थटुडे
२०७७ भाद्र ११, बिहीबार

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा देशमा विदेशी मुद्राको संचिती बढेको छ । कोभिड–१९ को महामारीले विदेशबाट बस्तु तथा सेवाको आयात घट्नुका साथै नेपालीहरुले भ्रमणमा गर्ने खर्च समेत घटेपछि मुद्रा संचिती बढेको हो ।

कोभिडले विश्व श्रम बजार प्रभावित भएपनि रेमिट्यान्स आयमा ठूलो असर नपरेकाले पनि विदेशी मुद्रा सञ्चिती बृद्धि भएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा १० खर्व ३८ अर्ब ९२ करोड रुपैयाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा १४ खर्व ०१ अर्ब ८४ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेकोमा २०७७ असार मसान्तमा ११ अर्ब ६५ करोड पुगेको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ खर्व ०२ अर्ब ४४ करोड रहेकोमा २०७७ असार मसान्तमा १२ खर्व २६ अर्ब १२ करोड पुगेको छ । २०७७ असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.८ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७६/७७ को आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.४ महिनाको वस्तु आयात र १२.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । समीक्षा वर्षमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.२ प्रतिशत, १०५.८ प्रतिशत र ३३.१ प्रतिशत रहेका छन्। २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले कमी आई रु.८७५ अर्ब ३ करोड कायम भएको छ ।
आर्थिक वर्ष २०७६/७७ मा सेवा खाता अन्तर्गत भ्रमण व्यय ४०.९ प्रतिशतले घटी रु.५३ अर्ब १४ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.२५ अर्ब ८१ करोड रहेको छ । अघिल्लो वर्ष भ्रमण व्यय रु.८९ अर्ब ९१ करोड रहेकोमा शिक्षातर्फको व्यय ४६ अर्ब ३२ करोड रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ