काठमाडौं । नेपाल आयल निगमले रुपन्देहीमा अत्याधुनिक प्रविधिसहितको इन्धन डिपो निर्माण गर्ने भएको छ । ५ अर्ब ७९ करोडको लगानीमा रुपन्देहीमा बन्दैछ इन्धन डिपो निर्माण गर्न लागिएको हो ।
लुम्बिनी प्रदेशको इन्धन आपूर्तिलाई सहज र सुरक्षित बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टको विशेष पहलमा रुपन्देहीको रोहिणी र ओमसतिया गाउँपालिकामा यो डिपो निर्माण गर्न लागिएको हो ।
करिब साढे २५ बिघा क्षेत्रफलमा निर्माण हुने लागेको यो डिपो निर्माणका लागि कर बाहेक ५ अर्ब ७९ करोड ३० लाख ६४ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । निगमले डिपो निर्माणका लागि आवश्यक साढे ११ बिघा जग्गा खरिद गरिसकेको छ । भने थप जग्गा प्राप्तिको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको छ । गत वर्ष नै भूमी पूजन गरी जग्गा सम्याउने, नदी किनारमा रिटेनिङ्ग वाल लगाउने र साइट कार्यालय स्थापना गर्ने जस्ता प्रारम्भिक कामहरू सम्पन्न भइसकेका छन् ।
नयाँ बन्ने डिपोको भण्डारण क्षमताले समग्र लुम्बिनी प्रदेशको एक महिनाको माग धान्नेछ । यहाँ डिजेलका लागि १३ हजार ५ सय किलोलिटर, पेट्रोलका लागि ४ हजार ९६० किलोलिटर र मट्टीतेलका लागि २२८ किलोलिटर क्षमताका विशाल भण्डारण ट्यांकहरू निर्माण हुनेछन् ।
हालको भलवारी डिपोको भण्डारण क्षमता अत्यन्तै न्यून हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत चुनौतीपूर्ण बन्दै गएपछि निगमले यो नयाँ र वृहत् परियोजना अघि बढाएको हो । स्थानीय बासिन्दाले पनि भलवारी डिपो स्थानान्तरण गर्न निरन्तर माग गर्दै आएका थिए । लामो समयदेखि साँघुरो र घनाबस्तीको बीचमा रहेको भलवारी डिपोबाट असुरक्षित रूपमा हुँदै आएको पेट्रोलियम पदार्थको कारोबार अब सुरक्षित र फराकिलो स्थानबाट सञ्चालन हुने भएको हो ।
प्रतिक्रिया