वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

जिडिपीमा रेमिट्यान्सको हिस्सा २८.२, इतिहासकै धेरै भित्रियो विदेशी पैसा

अर्थटुडे
२०८२ भाद्र ८, आईतवार

काठमाडौं । विदेशबाट नेपाल भित्रने रकम (रेमिट्यान्स) हालसम्मकै उच्च देखिएको छ । नेपालको कुल अर्थतन्त्र (जिडिपी) मा गत आर्थिक बर्षका रेमिट्यान्सको हिस्सा २८.२ प्रतिशत पुगेको छ । जसका कारण नेपालको अर्थतन्त्रको आकार पनि बढेर ६१ खर्ब ७ अर्व रुपैयाँ पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक बर्षमा नेपालमा १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । यो अघिल्लो आवको तुलनामा १९ दशमलव २ प्रतिशतले बढी हो । देशको अर्थतन्त्रको भर रेमिट्यान्स रहेको यो तथ्यांकले पुष्टी गरेको छ । अघिल्लो आर्थिक बर्षमा जिडिपीमा रेमिट्यान्सको हिस्सा जम्मा २५.३ प्रतिशत मात्र रहेको थियो ।

गत २० बर्षमा नेपालको अर्थतन्त्र रेमिट्यान्समा निक्कै निर्भर रहेको देखिएको छ । आर्थिक बर्ष २०६०/६१ मा नेपालको कुल जिडिपीको हिस्सा जम्मा १० प्रतिशत रहेको थियो ।

बाह्य सूचक थप बलियो

विप्रेषण आप्रवाह उच्च हुँदा अर्थतन्त्रको बाह्य क्षेत्रका सूचक थप बलियो भएका छन् । आव २०८१/८२ मा चालु खाता ४ खर्ब ९ अर्ब २० करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष चालु खाता २ खर्ब २१ अर्ब ७१ करोडले बचतमा थियो । गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोडले बचतमा छ । अघिल्लो वर्ष यो ५ खर्ब २ अर्ब ४९ करोडले बचतमा रहेको थियो ।

यसैगरी २०८१ असारमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३१ दशमलव २ प्रतिशतले वृद्धि भई २०८२ असारमा २६ खर्ब ७७ अर्ब ६८ करोड पुगेको छ । अमेरिकी डलरमा सञ्चिति २०८१ असारमा १५ अर्ब २७ करोड रहेकोमा २०८२ असारमा २७ दशमलव ७ प्रतिशतले वृद्धि भई १९ अर्ब ५० करोड पुगेको छ ।

आव २०८१/८२ को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १८ दशमलव २ महिनाको वस्तु आयात र १५ दशमलव ४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ