काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उखु किसानका माग सम्बोधन गर्नका लागि सधैं तत्पर रहेको बताए ।
उनले उखु किसानको हरेक दुखमा आफुले साथ दिने प्रतिबद्धता जनाएका हुन् । मंगलबार माइतीघर मण्डलामा उखु किसानहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका अध्यक्ष नेपालले यस्तो प्रतिबद्धता व्यवक्त गरेका हुन् ।
उनले उखु किसानहरूको आन्दोलन किसानका लागि मात्र नभएर देशको अर्थतन्त्रका लागि पनि आवश्यक रहेको बताए। ‘यो आन्दोलन निजी स्वार्थका लागि होइन । देशको अर्थतन्त्रको निम्ति अत्यन्त जरुरी छ,’ अध्यक्ष नेपालले भने ।
उखुमा सरकारले दिँदै आएको अनुदानको निरन्तरता हुनुपर्ने भन्दै माइतिघरमा किसानहरु प्रदर्शन गरिरहेका छन् ।
महोत्तरीमा उखुखेती गर्ने किसानको संख्या १५ हजार हाराहारी रहेको छ । यसअघि सरकारले दिँदै आएको चिनी उद्योगमा बुझाइएको उखुमा अनुदान प्रतिक्विन्टल ७० रुपैयाँ दिदै आएकोमा यसपालि बजेटमा नपरेपछि किसान आन्दोलित भएका हुन् ।
आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत किसानहरुले अनुदानको निरन्तरताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका थिए । उखु उत्पादक कृषक महासंघका सदस्य महाशङ्कर थिङका अनुसार किसानले मुख्य रूपले उखुखेतीमा सरकारले दिँदै आएको अनुदानलाई निरन्तरता दिनुपर्ने बताए ।
उनले गत आर्थिक वर्ष २०८१/८२ को अनुदानबापतको रकम तुरुन्त किसानलाई उपलब्ध गराउनुपर्ने बताए । बर्सेनि उखुको मूल्य निर्धारण गरिनुअघि उखु किसानका प्रतिनिधि, चिनी उद्योग र सरकारबीच सहमति गरिनुपर्ने लगायतका माग किसानले राखेका छन् ।
प्रतिक्रिया