वि.सं. २०८२ कार्तिक ६
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

व्यापारिक नाकाका रूपमा फस्टाउँदै कोरला

दुई महिनामै ३ अर्ब राजस्व

अर्थटुडे
२०८२ कार्तिक ६, बिहीबार

काठमाडौं । नेपाल–चीन सिमानास्थित मुस्ताङको उत्तरी कोरला नाका अब पूर्ण रूपमा व्यापारिक केन्द्र बन्दै गएको छ। संचालनमा आएको दुई महिनामै मुस्ताङ भन्सार कार्यालयले करिब ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भदौ ३१ गतेदेखि औपचारिक रूपमा व्यापारिक नाकाका रूपमा सञ्चालनमा आएको कोरला नाकाबाट हालसम्म ६६४ वटा मालवाहक कन्टेनरको जाँचपास भइसकेको छ। तीमध्ये ६५७ वटा चीनबाट नेपालतर्फ भित्रिएका र सात वटा नेपालतर्फबाट चीनतर्फ निर्यात भएको मुस्ताङ भन्सार प्रमुख रमेश खड्काले जानकारी दिए ।

भन्सार कार्यालयले चीनबाट आयात भएका रेडिमेड लत्ताकपडा, कस्मेटिक र इलेक्ट्रोनिक सामानहरूको जाँचपास गरेको छ। नेपालतर्फबाट भने हस्तकला र स्थानीय उत्पादनको निर्यात भइरहेको छ। सबैभन्दा उल्लेखनीय पक्ष भनेको—कोरला नाकामार्फत अहिलेसम्म १ हजार ४९८ वटा विद्युतीय कार भन्सार पास भएर नेपाल भित्रिएका छन्।

तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गको रूपमा भन्सार विभागले कोरला नाकालाई सञ्चालनमा ल्याएको हो। अहिले यो नाका अनलाइन ‘भन्सार आशिकुडा प्रणाली’मा जोडिएको छ र एलसीमार्फत कारोबार गर्न अनुमति पनि दिइएको छ।

तर, नाका ४६१० मिटरको उचाइमा रहेकोले वर्षभरि सञ्चालनमा चुनौती छ। अत्यधिक चिसोमा सवारीका इन्जिनमा इन्धन जम्ने, बाटोमा हिउँ र बरफका कारण ढुवानी अवरुद्ध हुनेजस्ता समस्या देखिने भन्सार प्रमुख खड्काले बताएका छन्।

उनका अनुसार, नाकालाई स्थायी र प्रभावकारी बनाउन सडक सुधार र पूर्वाधार निर्माण अपरिहार्य छ। यसअघि, २०८० सालको कात्तिक २७ गतेदेखि चीनले उपल्लो मुस्ताङका स्थानीयलाई घरायसी किनमेलका लागि कोरला नाका वर्षभर खुला गरेको थियो। अहिले भने यो नाका नेपालको नयाँ सम्भावनायुक्त व्यापारिक मार्गको रूपमा उदाउँदै गएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ