वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

युवाहरु हरेक काम नयाँ ढंगबाट गर्न चाहन्छन्

अर्थटुडे
२०७५ जेष्ठ १, मंगलवार

अह्सान अली ठाकुर (Ahsan Ali Thakur)
अध्यक्ष, आइसिए, एपी, कमिटी अन युथ कर्पोरेसन

पाकिस्तानमा सहकारीको अवस्था कस्तो छ ?

पाकिस्तानको सहकारीको अवस्था बारेमा कुरा गनुपुर्व म यहाँको सहकारीको इतिहासलाई अलिकति जोड्न चाहन्छु । यहाँ सहकारी मोडल व्रिटिस सरकार हुदै आए हो । तर समयक्रसँगै यहाँको सहकारी अभियानमा पनि ठूलो परिवर्तन आएको छ । भारत र पाकिस्तान नछुट्टिदै किसानहरुको लागि थोरै व्याजमा ऋण दिन सकिने मोडलमा सहकारीको स्थापना भएको हो । पछि पाकिस्तान भारतबाट छुट्एिपछि सहकारीको व्यवस्थापन गर्ने कर्मचारीहरु भारतमा गएर बसे । पाकिस्तानमा सहकारी व्यवस्थापनको संकट आइलाग्यो । तर सहकारी अभियान विस्तारै सम्हालिदै गयो ।

सन् १९५९ मा पाकिस्तान सरकारले कर्जा सोधपुछ आयोग गठन गर्यो । जसको प्रमूखमा स्टेट बैंक अफ पाकिस्तानको तत्कालिन गभर्नर अव्दुल क्वादिर थिए । उनले केन्द्रिय सहकारी बैंकलाई प्रान्तिय सहकारी बैंक बनाइदिए । प्रान्तका किसानहरुमा पनि सहकारीको पहुँच पुगोस् भन्ने उनको मुख्य उदेश्य थियो । त्यसपछि विस्तारै सहकारी क्षेत्रको विकास सुरु भयो । अन्ततः सन् १९६२ मा सहकारी विकास बोर्डको स्थापना भयो । बोर्डले किसानहरुको आवश्यकता, उनीहरुको उत्पादनको बजार विस्तार लगायतका क्षेत्रमा कामहरु गर्न थाल्यो ।

त्यस्तैगरी सन् १९६३ मा सरकारले प्राथमिक सहकारी समाजलाई सहकारी विकास समाजमा परिवर्तन गर्यो । जसले धेरै गाउँहरु समेट्न सक्ने भयो । समाजले उनीहरुको सदस्यलाई कर्जा दिने र बैकिङ सेवाहरु पनि दिन सक्ने भए । सन् १९६६ मा सहकारी बोर्ड हट्यो । त्यहाँका कर्मचारीहरुलाई सरकारी कार्यालयमा मिलान गर्यो । त्यसको रिजल्ट के निस्कियो भने सहकारीका सदस्यहरुको अधिकार व्युरोक्रयासीको नियन्त्रणमा पुग्यो । सन् १९७६ मा संघिय सरकार, खाध्य सामग्री संस्थान र स्टेट बैंक अफ पाकिस्तानको सेयर स्वामित्वमा संघिय सहकारी बैंकको स्थापना भयो । सो बैंकको मुख्य काम भनेको प्रान्तिय सहकारी बैंकलाई कर्जा प्रबाह गर्ने र उनीहरुको कामको नियमन गर्ने हो ।

त्यसपछि प्रान्तिय सरकारले किसानहरुलाई दिइने ऋणको रकम बढाउँदै गयो । संघिय सहकारी बैंकले सहकारी क्षेत्रमा धेरै नै परिवर्तन ल्यायो ।

अहिले पनि पाकिस्तानमा अन्य देशको तुलनामा सहकारी पुर्ण रुपमा फस्टाएको भने छैन । तर विकासको क्रममा रहको छ । विभिन्न समयहरु पार गर्दै आएको सहकारी क्षेत्र अहिले हाउजिङमा बढी केन्द्रित भएको छ । नेपालमा बचत तथ ऋण, कृषि जस्ता विषयगत सहकारीहरु पनि रहेका छन् । तर हाउजिङमा केन्द्रित सहकारी छ । पाकिस्तानमा नेपालमा जस्तो सहकारी क्षेत्रका छुट्टै नेताहरु पनि छैनन् । जसले सहकारी क्षेत्रको मात्र वकालत गरोस् । जति पनि सहकारीहरु रहेका छन् ति सबै राम्रा छन् तर थोरै भएकोले देशभरका जनतालाई सहकारीमा समेटन् सकिएको छैन । छोटकरीमा भन्नुपर्दा पाकिस्तानको सहकारी ग्रोइङ अप कै अवस्थामा छ ।

पाकिस्तामा सहकारी क्षेत्र फष्टाउन नसक्नुको कारण के हो ?

पाकिस्तानको सहकारीको ठूलो कमजोरी भनेको सन् १९२५ मा बनेको सहकारी ऐनको संशोधन नहुनु हो । करिव एकसय बर्ष अघिको सहकारी ऐन अझैसम्म शंसोधन हुन सकेको छैन । हामीले यसको संशोधन हुनुपर्छ भनेर कुरा उठाइरहका छौ । यसमा सरकार पनि सकारात्मक देखिएको छ । एकसय बर्षमा देशमा धेरै परिवर्तनहरु भइसकेको छन् । आधुनिक तवरको नयाँ सहकारीमैत्री ऐन निर्माणमा ढिलाई हुदा हामी विश्वस्तरमा अन्य मुलुक भन्दा पछाडि परेको पक्कै हो । तर आशा गरौ हाम्रो देशमा पनि सहकारी मैत्री ऐन आउने छ र हामी पनि अन्य देशकै हाराहारीमा अगाडी बढ्ने छौ ।

पाकिस्तामा सहकारीमा महिलाहरुको आकर्षण कस्तो देख्नुभएको छ ?

यहाँ सहकारी सम्बन्धी जनचेतनाको कमीका कारण पर्याप्त रुपमा महिलाहरु सहकारी क्षेत्रमा आकर्षित छैनन् । तर पाकिस्ताको हैदराबाद, लाहौर, कराची, क्वेटा, मुल्तान, इस्लामाबाद लगायतका क्षेत्रमा बसोबास गर्ने प्यालेष्टाइन महिलाहरुमा भने सहकारीको राम्रो पहुँच छ । उनीहरुले सहकारी मोडलबाट विभिन्न कामहरु गरिरहेका छन् । यहाँका अधिकांश प्यालेष्टाइन महिलाहरु सहकारीमा आबद्ध भएका छन् र उनीहरुमा सहकारी शिक्षा समेत पुगेको छ । तर उनीहरुको दाजोमा आदीबासी महिलाहरु जस्तै पन्जावी, सिद्धि, बालोच लगायतमा भने सहकारी पर्याप्त पुगेको छैन र उनीहरुमा यसको ज्ञानको पनि अभाव छ ।

एसियाका सहकारी क्षेत्रमा काम गर्ने युवा जमातको अध्यक्षको हैसियतमा भन्नुपर्दा एसियन मुलुकहरुमा सहकारीमा युवाहरुको आकर्षण कस्तो देख्नुभएको छ ?

पछिल्लो केही समय विश्वभरीबाट नै सहकारी क्षेत्रमा युवाहरुको आकर्षण बढी रहेको देखिन्छ । सहकारी भनेको सहकार्यको मोडल हो । युवाहरु हरेक काम सहकार्य मार्फत नै गर्न चाहन्छन् । त्यसैले उनीहरु सहकारीमा जोडिदै छन् । हुन त एसियाका अधिकांश युवाहरुमा सहकारी सम्बन्धी चेतनाको अभाव छ । जतिलाई सहकारीको मोडल थाहा छ उनीहरु सहकारीमा लागिरहेका छन् । जतिलाई जानकारी छैन उनीहरु वेवास्ता गरिरहेका छन् । अहिले सहकारीमा जोडिनु अपरिहार्य भइसकेको छ । विश्वभरमा सहकारी एक मात्र यस्तो मोडल हो, जसले सबैसँग सहकार्य गर्नका लागि सिकाइरहेको हुन्छ । युवाहरु विस्तारै सहकारीतर्फ आकर्षित भइरहेका छन् । सहकारीले विभिन्न समुदाय र व्यक्तिहरुको भावना मात्र होइन उनीहरुको विद्धतालाई पनि एक आपसमा जोडेर राख्दछ । एसिया क्षेत्रमा पनि युवाहरु सहकारीतर्फ लागिरहेका छन् ।
सहकारीमा युवाहरुलाई आकर्षित गर्नका लागि के गर्नुपर्ला ?

पहिलो कुरा जनचेतना नै हो । जबसम्म युवाहरुले सहकारी भनेको के हो ? र यसबाट के कस्ता फाइदा पुग्दछ ? भनेर नबुझुन्जेलसम्म सहकारी क्षेत्रमा युवाहरुको आकर्षण बढ्न सक्तैन । अर्कोतर्फ युवाहरु जहिले नयाँ कुराहरु चाहन्छन् र नयाँ नयाँ कुराहरुको प्रयोग गर्न चाहन्छन् । उनीहरुलाई त्यस्तो प्रकारको वातावरण बनाइदिनुपर्दछ । साथै उनीहरुको रचनात्मक कामको उपयोग सहकारीले गर्न सक्नुपर्दछ । यसकालागि सहकारीहरुले युवामैत्री नयाँ नीतिहरु बनाउन सरकारसँग लविङ गुर्न जरुरी रहेको छ । अहिले सहकारीमा युवा जमात क्रमशः बढ्दै गएपनि पर्याप्त छैन । म बसेको देश पाकिस्तानमा पनि युवाहरु सहकारी भन्दा नीजी तर्फ नै बढी आकर्षित भएको देखिन्छ । यसका लागि सहकारी क्षेत्रमा काम गर्नेहरुले सोच्नुपर्दछ र सहकारीलाई युवामैत्री बनाउनु जरुरी रहेको छ । हामीले पनि हाम्रो ठाउँबाट सक्दो सहयोग गरिरहेका छौ ।
नेपालको र पाकिस्तानको सहकारी क्षेत्रलाई तुलना गर्दा कसरी गर्नुहुन्छ ?

नेपालमा सहकारी राम्रोसँग फैलिएको छ । त्यहाँ करिव ३४ हजारको हाराहारीमा सहरकारीहरु रहेका छन् । करिव साढे १२ हजारको हाराहारीमा बचत तथा ऋण सहकारी रहेको छ, भने ४ हजारको हाराहारीमा बहुउदेश्य सहकारी रहेको मैले जानकारी पाएको छु । त्यहाँ विषयगत सहकारीहरु पनि राम्रोसँग मौलाएका छन् । मैले बुझेअनुसार नेपालमा सहकारी क्षेत्रमा नेताहरु पनि कुनै न कुनै राजनीतिक परिवेशबाट आएका छन् । जसले गर्दा उनीहरुलाई सहकारी ऐन, नियम संशोधन गर्नका लागि पनि सहज भयो । तर पाकिस्तामा त्यस्तो अवस्था छैन । हामीकहाँ करिव सय बर्ष पुरानो सहकारी ऐन छ । जसले गर्दा सहकारीमा नयाँ नयाँ प्रविधि भित्र्याउन सकिएको छैन । पुरानै ढर्रामा सहकारी क्षेत्र गइरहेको छ । तर विस्तारै यहाँका सहकारी अभियन्ताहरुले पनि सहकारी ऐनको संशोधन गर्नुपर्ने आवश्यकता ठानेका छन् । संशोधनको तयारीमा छन् ।
अन्तमा, दिगो विकास लक्ष्य प्राप्तिका लागि पाकिस्तानमा रहेका सहकारीहरुले के गरिरहेका छन् ?

दिगो विकास लक्ष्य प्राप्तिको लागि विभिन्न देशको आ —आफ्नै तरिकाले प्राथमिकता तय गरेका हुन्छन् । यसका लागि पाकिस्तानको गरिवी न्युनीकरण, भोकमरी उन्मुलन,स्वस्थ जिवन, गुणस्तरीय शिक्षा, लैङिक समानता लगायतका १७ वटा प्राथमिकताहरु रहेका छन् । त्यसकोलागि सहकारी ठूलो माध्यम हो । सहकारी एक मात्र स्थान हो जहाँ गरिव धनी सबै अटाउन सक्छन् । सहकारी मार्फत गरिवहरुलाई उत्पादनका लागि विउँपुजी दिन सकियो भने उनीहरु विस्तारै कमाउन सक्छन् । उनीहरुले कमाएको रकम बचत गर्दछन् सोही बचतले अन्य गरिव मानिसहरुलाई ऋण लगानी गर्न सकिन्छ जसले गर्दा पाकिस्तानमा गरिवी न्युनीकरण गर्न सहज हुन्छ । त्यस्तै गरिवी न्युनीकरण गर्न सकेमा भोकमरीको पनि अन्त्य हुन्छ । यसरी एक आपसमा अन्तसम्बन्ध भएको हाम्रो प्राथमिकता विस्तारै सहकारीले परिपुर्ति गर्दै लाने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ