काठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमूख लोकमान सिंह कार्की सहित चारजनालाई लिखित जवाफ दिदा स्वयं उपस्थित हुन आदेश दिएको छ । कार्की सहित चारजनालाई कारबाहीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले त्यस्तो आदेश दिएको हो ।
मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासको सो आदेश दिएको हो । सो आदेशमा भनिएको छ, ‘सजाय नगर्नु पर्ने कुनै आधार र कारण भए सात दिनभित्र स्वयम् उपस्थित भई लिखित जवाफ पेश गर्नु भनि निवेदनमा विपक्षी बनाइएका व्यक्तिहरुलाई निवेदनको प्रतिलिपिसहित म्याद सूचना तत्काल जारी गर्नू ।’
कार्कीको योग्यतासम्वन्धी मुद्दामा पुनरावलोकनको फैसलापछि म्याद तामेलीका क्रममा अवरोध भएको थियो । तामेलीमा अवरोध गर्ने कार्की, उनका ज्वाइँसहित चार जनालाई कारबाहीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्चमा निवेदन दिएका थिए ।
निवेदनमा कार्कीसँगै उनका ज्वाइँ प्रवल थापा, पूर्वकानुन सचिव एवं कार्कीका नातेदार प्रमोद कार्की र नेपाल प्रहरीका सई नकुलराज गौतमलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया