काठमाडौं । मृत्यु भएका भनिएका तनहुँका एक व्यक्तिले आफु जिउँदै रहेको भन्दै सम्पति हडप्न आफन्तले षड्यन्त्र गरेको बताएका छन् । राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी उनले आफु जिवितै भएपनि मृत्यु भएको भनि झुठ्ठो कागज बनाएर आफ्नै दिदिका छोराहरुले सम्पति हडपेको दाबी गरे ।
तनहुँ निवासी विष्णुहरि गैरेले जागीरको सिलसीलामा आफु भारत गएका बेला आफ्नै दिदिहरु बिष्णुमाया ढकाल र गौरीमाया पौडेलका छोराहरुले मिलेमतोमा सरकारी निकायमा मृत्यु भएको झुठ्ठा विवरण पेश गरी एउटा घर र २४ रोपनी जग्गा आफ्ना नाममा सारी बिक्री गरेको दाबी गरेका हुन् ।
विक्रम सम्बत् २०२८ सालमा आफु रोजगारीको सिलसिलामा भारत गएको र २०६३ सालमा फर्केर आउँदा आफु बस्ने घरसमेत अर्कैले विक्री गरेकाले आफु अन्यायमा परेको उनले बताए । ‘त्यसपछि म अड्डा अदालत पनि धाएँ’, उनले भने, ‘तर सबै यहाँ पैसावालाहरुकै बोलबाला चल्ने रहेछ, मैले न्याय पाउन सकिन ।’
मुद्दाका क्रममा वकीलदेखि अमिनसम्मले आफुमाथि अन्याय गरेको उनले बताए । ‘वकिल कमलामोहन वाग्ले समक्ष पुगेको थिएँ’, गैरेले भने, ‘पुनराबेदनमा प्रतिवादी थाप्नु पर्दैन बहस गरेर मुद्धा जिताइदिने आश्वासन दिएका कमलामोहनले आर्थिक प्रलोभनमा परी मलाई झुक्याएर मुद्दा हराइदिए ।’
लोकतान्त्रिक शासन व्यवस्था भएको देशमा न्यायका लागि यति धेरै धाउनुपर्दा आफु आजित भएको उनको भनाई थियो । साथै उनले आफुमाथि भएको अन्यायप्रति ध्यानाकर्षण गराउँदै न्याय दिलाउन सहयोग गरिदिन सबैलाई आग्रह पनि गरेका छन् ।
प्रतिक्रिया