काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले नेपालले शान्ति वार्ताबाटै द्धन्द्धको समाधानमा हासिल गरेको सफलता संसारकै लागि एक सफल उदाहरण भएकोले यसबाट विश्वले नै सिक्नसक्ने बताए ।
इन्डोनेसियाको बालीमा बिहीबारदेखि सुरु भएको बाली डेमोक्रेसी फोरमको नवौँ सम्मेलनलाई सम्बोधनगर्दै उनले भने— संसारका अरु देशमा पनि द्धन्द्ध व्यवस्थापन र शान्ति स्थापनाका लागि नेपालबाट विश्वले नै सिक्न सक्छ ।
विश्वका ९४ देशका विदेशमन्त्री, मन्त्री तथा प्रतिनिधिहरुको सहभागिता रहेको सो सम्मेलनको उद्घाटन इन्डोनेसियाका राष्ट्रपति जोको विदोदो बिहीबार बिहान गर्नुभएको हो । यस सम्मेलनको यस पटकको नारा (थिम) धर्म, प्रजातन्त्र र बहुलबाद राखिएको छ ।
शान्ति र प्रजातन्त्रका लागि नेपालले विगत लामो समयदेखि गरेको संघर्षको उदाहरण दिँदै परराष्टमन्त्री डा. महतले यस संघर्षले नेपाली नागरिकलाई पनि शान्त र सहनशिल बन्न सिकाएको धारणा राखे
नेपालले विगतमा शान्ति र प्रजातन्त्रका लागि गरेको यस संघर्षको परिणामस्वरुप दशकौंपछि नेपाली जनताले संविधान सभामार्फत आफै संविधान लेख्ने अवसर पाएका र नेपाली जनताद्धारा जारी यस संविधान प्रजातान्त्रिक, समावेशी र सहभागितामूलक रहेको पनि बताए ।
मन्त्री डा महतले भने— हामी संसारममा नै उदाहरण दिनमिल्नेगरी समावेशी प्रजातन्त्रको अभ्यास गरिरहेका छौँ र हामीले संविधानमा नै देशको संसदमा कम्तीमा पनि ३३ प्रतिशत र देशका सबै स्थानीय तहहरुमा ४० प्रतिशत महिला सहभागिताको सुनिश्चितता गरेका छौँ । उनले अगाडि भने, हाल नेपालमा राष्ट्रपति, संसदमा सभामुख र प्रधानन्यायाधीशमा पनि महिला रहेका छन् ।
समावेशी र सहभागितामूलक विकास प्रयासलाई नेपाल सरकारले प्राथमिकतामा राखेको र देशका महिला, गरिब तथा समाजमा विभिन्न कारणले पछि परेका समुदायका नागरिकको सशक्तिकरणका लागि आवश्यक नीति र कार्यक्रमहरुका लागि अघि बढेको जानकारी पनि उहाँले सो सम्बोधनका क्रममा दिए ।
नेपालले आगामी केही समयभित्रै केन्द्र तथा स्थानीय तहहरुका निर्वाचनको योजना गरिरहेको र यसमार्फत लामो समयपछि नेपाली जनताले लेखेको संविधानको कार्यान्वयनमा थप सशक्तता आउने र दिगो विकास र देशले लिएको समावेशी र सहभागितामूलक शासन व्यवस्थालाई थप संस्थागत बनाउन सहयोग पुग्ने धारणा पनि राखे ।
सो सम्मेलनमा मन्त्री डा महतले नेपाल धार्मिक सहिष्णुता र सांस्कृतिक बहुलताको एक अद्धितीय उदारहण हो भन्दै हाम्रो देशमा हिन्दू, बौद्ध, इस्लामलगायतका अन्य धर्महरुबीचमा ऐतिहासिक रुपमा सहिष्णुता कायम रही आएको स्मरण गरे ।
नेपाल सधैं शान्तिपूर्ण सहअस्तित्व र धार्मिक तथा बहुसांस्कृतिक मान्यतामा विश्वास गर्छ भन्दै उनले भने— प्रजातन्त्र, कानुनी शासन, बहुलबाद र शान्तिपूर्ण सहअस्तित्वका माध्यमबाट नै अन्तर्राष्टिय समुदायका बीचमा पनि सहयोग, साझेदारिता र समन्वय कायम गर्न सकिन्छ भन्नेमा नेपालको विश्वास रहेको बताए ।
नेपाल संसार नै एउटा परिवार हो भन्ने बसुधैव कुटुम्बकम मान्यतामा विश्वास गर्छ भन्दै एसिया नै यस्तो क्षेत्र हो जुन गौतम बुद्ध, महात्मा गान्धी, कन्फ्युसियस र अरु कैयौं महान दार्शनिकहरुको जन्मस्थल हो भने ।
एसिया यस्तो धार्मिक र सांस्कृतिक बहुलताको धनी क्षेत्र हो भन्दै नेपालजस्तै इन्डोसियाको बालीले पनि एसियाली विविधतायुक्त समाजको प्रतिनिधित्व गर्ने बताए ।
भोलिसम्म चल्ने यस सम्मेलनमा इन्डोनेसियाली राष्टपति र संयुक्त राष्टसंघका पूर्व महासचिव कोफी अन्ननले पनि मन्तव्य राखेका थिए ।
प्रतिक्रिया