काठमाडौं । सरकारको गैरजिम्वेवारीका कारण नेपालीसँग रहेको भारतीय ५०० र एक हजार दरका नोट कागजको खोष्टोमा परिणत भएको छ । भारत सरकारले आफ्ना नागरिकहरुलाई भारु ५०० र एक हजारको नोट साट्नको लागि डिसेम्वर ३०, २०१६ सम्मको म्याद दिएको थियो ।तर अन्य देशको हकमा ५०० र एक हजार दरको नोट सटही सुविधा दिएको थिएन ।
समय सकिसक्दा सम्म पनि भारतले नोट सटहीको बारेमा कुनै प्रतिक्रिया दिएको छैन । नेपाल राष्ट्र बैंकका सहप्रबक्ता राजेन्द्र पण्डितका अनुसार नेपालीसँग भएको भारुबारे राष्ट्र बैंकले केही भन्न सक्तैन । अव राष्ट्र बैंकले भारु सटहीका लागि कुनै पहल समेत गर्न नसक्ने उनको तर्क छ । तोकिएको समयसीमा भित्र राष्ट्र बैंकले पहल गर्दा कुनै प्रतिक्रिया नआएको र अव पहल गर्नुको कुनै अर्थ नरहेको उनले बताए ।
भारु नसाटिने भएपछि नेपालमा बैंकिङ तथा गैर बैंकिङ प्रणालीमा रहेको झण्डै १५ अर्ब रुपैयाँ भारु कागजमा परिणत हुने निश्चित छ ।
नेपालको तर्फबाट भारतसँग पटक पटक भारु सटहीको बारेमा कुरा भएको भनिएपनि नेपालको कमजोर लविङका कारण भारु सटही नभएको हो । भारतले दिएको रकम भारतले नै नसाट्नु लाजमर्दो कुरा भएको अर्थविद्हरुको भनाई छ ।
‘कतिपय नेपालीहरुसँग पेन्सनको रकम छ भने कतिपय नेपालीहरुले भारतमा काम गरेर कमाएको रकम राखेका छन् । उनीहरुसँग भएको भारुको क्षतिपुर्ति कसले दिने ? भारु सटही प्रति सरकारको लविङ नपुगेका कारण नेपाली जनतामा भएको भारु नसाटिएको हो,’ अर्थविद्हरुले भने ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु छ । तर, बैंकिङ प्रणालीभन्दा बाहिर झण्डै १५ अर्ब रुपैयाँ भारु रहेको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ । विशेषगरी व्यापारी तथा भारतीय रोजगारीमा जाने कामदारसँग त्यस्तो पैसा बढी रहेको दावी छ ।
प्रतिक्रिया