काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आइतबार र सोमबार दोहोरो अंकमा नै उकालो लागेको बजारमा मंगलबार राताम्मे भएको छ । यसदिन नेप्से सूचक २६.०३ अंकले घटेर १४५६.८२ विन्दुमा अडिएको छ ।
बजारमा विक्रिको चापमा बृद्धि भएसँगै बजार ओरालो लागेको हो । बजार बढेको मौका छोपी विक्रि गर्नेहरु सक्रिय भएपछि नेप्से पुन ओरालो लागेको हो ।
यसदिन १३० कम्पनीको ३९ करोड ७३ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । नेप्सेमा सूचीकृत सबै उपसमूह मंगलबार राताम्य भएका छन् । सबैभन्दा धेरै बिमा सूचक तल झरेको छ । यो समूहको सूचक २१६.९६ विन्दुले ओरालो लागेको हो ।
त्यस्तै बैंकिङ, होटेल र हाइड्रोपावरको सूचक पनि क्रमशः २६.९४, २५.२९ र १८ अंकले ओरालो लागेको छ । त्यसैगरी विकास बैंक, फाइनान्स र अन्य समूह पनि क्रमशः २४.३, २.७६ र ०.५७ अंकले ओरालो लागेको छ ।
घटेको बजारमा पनि लगानीकर्ताको आकर्षण भने एभरेस्ट बैंकमै देखिएको छ । यस दिन एभरेस्ट बैंकको मात्रै दुई करोड ७७ लाख रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ । त्यस्तै नेपाल लाइफ इन्सुरेन्स र सिटिजन्स बैंकको पनि धेरै कारोबार भएको छ ।
मंगलबार सवैभन्दा बढी कमाउनेहरुमा अरुण फाइनान्स, सप्तकोशी डेभलपमेन्ट बैंक, ग्रिन डेभलपमेन्ट, प्रोगेशिभ फाइनान्स, एनबी इन्सयोरेन्स, अरुण भ्याली हाइड्रो लगायतका कम्पनी रहेका छन् ।
त्यस्तै गुमाउनेहरुमा साझा विकास बैंक, महिला सहयात्रा माइक्रोफाइनान्स, युनाइटेड फाइनान्स, प्रडेन्सियल इन्स्योरेन्स,कालिका माइक्रोफाइनान्स, अल्पाइन डेभलपमेन्ट लगायतका कम्पनीहरु रहेका छन् ।
प्रतिक्रिया