काठमाडौं वायु प्रदूषणका कारण काठमाडौं उपत्यकावासीको स्वास्थ्यमा प्रतिकूल असर परेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले आज यहाँ आयोजना गरेको कार्यक्रममा वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सरलगायतका नसर्ने रोगको जोखिम बढ्दै गएको जानकारी गराइयो ।
वायु प्रदुषणका विरामी बढ्दै
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा खेम कार्कीले वायु प्रदूषणका कारण मुटु एवम् फोक्सोको बिरामीका सङ्ख्या बढिरहेको बताउँदै वायु प्रदूषणका कारण उपत्यकामा मुटुरोगी ७२ प्रतिशत, दमका बिरामी १४ प्रतिशत र फोक्सोको क्यान्सर १४ प्रतिशतले बढेको बताए ।
उनले वायु प्रदूषणले दमखोकीका बिरामी अस्पताल भर्ना हुने दरमा १.३ प्रतिशत, निमोनियाबाट भर्ना हुनेमा ३.४ प्रतिशत बढेको छ भने श्वासप्रश्वाससम्बन्धी रोगबाट मृत्यु हुने दर ३.६ प्रतिशतले बढेको अनुसन्धानबाट देखिएको बताए ।
उपत्यका विकास प्राधिकरणका प्रमुख डा भाइकाजी तिवारीले वायु प्रदूषण बढ्नुका प्रमुख कारण पुराना गाडी भएकाले यसको न्यूनीकरणका लागि पहिलो चरणमा सरकारी कार्यालयका २० वर्षभन्दा पुराना गाडी हटाउनुपर्नेमा जोड दिए ।
दाउरा र गुइँठा वायु प्रदुषणका प्रमुख कारण
वातावरणविद् डा भूषण तुलाधरले वायु प्रदूषणका प्रमुख कारणमा ७५ प्रतिशत घरको भान्छामा प्रयोग हुने दाउरा, गुइँठा रहेका छन् ।
दाउरा र गु्इँठाले महिला एव्म बालबालिकालाई प्रभावित पारिरहेको चर्चा गर्दै घर बाहिर हुने वायु प्रदूषणमा ३८ प्रतिशत सवारी साधन तथा २५ प्रतिशत धुलोको कण रहेको बताए ।
नेपालमा बर्सेनि नौ हजार नौ सय ४३ ले ज्यान गुमाउँदै
विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेको सन् २०१६ को तथ्याङ्कअनुसार नेपालमा बर्सेनि नौ हजार ९४३ जनाले वायु प्रदूषणका कारण ज्यान गुमाइरहेका छन् ।
विश्वमा प्रत्येक नौ जनामा एक जनाको मृत्यु वायु प्रदूषणका कारण हुने गरेका छन् ।
उपभोक्ता हित तथा संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले काठमाडौँको बढ्दो वायु प्रदूषणका कारण मानव स्वास्थ्यमा परेको असरबारे संसदीय समितिमा कुरा उठाउने बताए ।
“काठमाडौंको बढ्दो वायु प्रदूषणले मानव स्वास्थ्यमा नराम्रो असर पारेको तथ्याङ्कले देखाइ रहेको बेलामा सम्बन्धित निकाय संवेदनशील हुनुपर्छ”, उनले भने ।
प्रतिक्रिया