काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्व १२ अर्व ४८ करोड रुपैयाँ राजस्व संकलन भएको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशतले बृद्धि हो । सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा एक खर्व ६ अर्व ३२ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । यो सरकारले राखेको लक्ष्यको तुलनामा १०६ प्रतिशतको प्रगति हो ।
आन्तरिक राजस्व विभागका अनुसार आयकर तर्फ ६१ अर्व ८८ करोड ६० लाख, मूल्य अभिवृद्धि करतर्फ २८ अर्व ६० करोड रुपैयाँ र अन्तःशुल्क तर्फ २१ अर्व ८ करोड ४३ लाख रुपैयाँ संकलन गरेको छ । त्यसैगरी शिक्षा सेवा शुल्क र स्वास्थ्य सेवा करतर्फ क्रमशः ३८ करोड ४९ लाख र ५२ करोड ८५ लाख रुपैयाा राजस्व संकलन गरेको छ ।
आन्तरिक राजस्व विभागमा आयोजित अर्ध वार्षिक समिक्षा कार्यक्रममा आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्माले काठमाडौं उपत्यका भित्रका सवै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका प्रमुखहरूलाई लक्ष्य हासिल गर्न आगामी दिनमा सक्रिय भएर लाग्न निर्देशन दिए ।
महानिर्देशक शर्माले कुनै पनि करदाताको निधन भएको खण्डमा विधिसम्मत कानुनी ढंगले उसको हकदारसँग बाँकी बक्यौता उठाउन समेत निर्देशन दिए । विभागमा आइतबार भएको कार्यक्रममा विभाग उच्च कर्मचारीहरुले मदिराजन्य पदार्थ र सूर्तिजन्य पदार्थमा लगाइने स्टिकरको प्रभावकारी अनुगमन गर्नुपर्ने बताएका थिए ।
विभागका निर्देशक अर्जुनप्रसाद भट्टराईले राजस्व संकलनका लागि कर्मचारीहरुलाई कसरी परिचालन गरिएको थियो भन्ने विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया