काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र मोरिससका पूर्व राष्ट्रपति कासाम उत्तिमबीच भेटवार्ता भएको छ ।
बुधबार बिहान गृहमन्त्रालयमा भएको भेटमा मोरिससका पूर्वराष्ट्रपति कासामले नेपालको शान्ति प्रक्रिया र पछिल्लो राजनीतिक घटनाबारे चासो राखेका थिए । मेड्रिड क्लवका उपाध्यक्ष समेत रहेका उत्तिमले नेपालको शान्ति प्रक्रियाको अनुभव अन्तर्राष्ट्रिय समुदायका लागि समेत उदाहरणीय र उपयोगी भएको बताए ।
त्यस अबसरमा उपप्रधान एवं गहृमन्त्री निधिले नेपालको शान्ति प्रक्रियामा अन्तर्राष्ट्रिय समुदायले गरेको सहयोगका लागि धन्यवाद दिदैं नेपालको पछिल्लो राजनीतिक परिबर्तनलाई संस्थागत गर्नका लागि संविधान कार्यान्वयनको अन्तिम चरणमा रहेको उल्लेख गरे ।
यसैबीच, गृहमन्त्री निधि र नेपालका लागि कतारका राजदूत यूसुुफ बीन मोहम्मद अल हेलबीच बुधबार विहान नै गृहमन्त्रालयमा भेटघाट भएको छ । भेटमा द्धिपक्षीय सम्बन्ध र आपसी हितका बारेमा कुराकानी भएको थियो ।
उनले सन् २०२२ मा कतारमा हुने बिश्वकपको तयारीका सिलसिलामा नेपाली कामदारको योगदानको चर्चा गरेका थिए । त्यस अबसरमा गृहमन्त्री निधिले नेपालबाट भोलिका दिनमा दक्ष जनशक्तिलाई रोजगारीको अबसर सिर्जना गर्ने बिषयमा कतार सरकारको ध्यानाकर्षण गराएका थिए ।
सोहीदिन गृहमन्त्री निधि र नेपालका लागि इजरायलका राजदूत यारोन मेयरबीच भेटबार्ता भएको छ । भेटमा नेपाल–इजरायल सम्बन्ध र आपसी हितका बिषयमा कुराकानी भएको थियो ।
त्यस अबसरमा गृहमन्त्री निधिले इजरायल सरकारले हरेक बर्ष नेपाली विद्यार्थीलाई कृषि सम्बन्धी अध्ययनका लागि अबसर दिएकोमा धन्यबाद दिदैं आगामी दिनमा अन्य क्षेत्रमा पनि अनुभब आदानप्रदानको वातावरण बनाउनु पर्नेमा ध्यानाकर्षण गराए ।
प्रतिक्रिया