वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

वैदेशिक रोजगारीमा रहेकालाई लगानीको अवसर, १० % व्याजदर पाउने बचतपत्र खुल्यो

अर्थटुडे
२०७३ माघ १८, मंगलवार

काठमाडौं । वैदेशिक रोजगारीमा रहेका सर्वसाधारणलाई लगानीको अवसर खुलेको छ । नेपाल राष्ट्र बैंक अन्तगर्तको राष्ट्र ऋण व्यवस्थापन विभागले सोमवारदेखि ५० करोड रुपैयाँ बराबरको बैदेशिक रोजगार बचतपत्र विक्री सुरु गरेको छ । पाँच वर्षे अवधिको ‘वैदेशिक रोजगार बचतपत्र २०७८’ मा लगानी गर्ने सर्वसाधारणले वार्षिक १० प्रतिशत व्याजदर पाउनेछन् भने ६\६ महिनामा व्याज भुक्तानी पाउनेछन् ।

बचतपत्रका लागि फागुन १७ गतेसम्म आवेदन दिन सकिनेछ । बचतपत्रको बाँडफाँड फागुन २३ गते गरिने राष्ट्र बैंकले जनाएको छ । ०७८ फागुन २३ गते सावाँसहित रकम फिर्ता हुनेछ ।

कसले किन्न पाउछन् ?
यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महीना नपुगेका नेपाली नागरिक खरिद गर्न पाउछन् । यसैगरी गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान, श्रीमती, छोरा, छोरी) को नाममा खरीद गर्न पाउने छन् । न्यूनतम पाँच हजार रुपैयाँदेखि र बढीमा पाँच हजारले भाग गर्दा निःशेष भाग जाने गरी रकमसम्मको बचतपत्र खरिद गर्न पाइनेछ ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा समेत लिन सकिनेछ ।

कहाँबाट किन्ने ?
वैदेशिक रोजगार बचतपत्र किन्नका लागि नेपालभित्र १३ ओटा विक्री एजेण्ट रहेका छन् । राष्ट्र बैंकका अनुसार सिटिजन्स् बैंक (कमलादी), एनएमबी (बबरमहल), नबिल (तीनधारा) दरबारमार्ग, माछापुच्छ्रे (लाजिम्पाट), प्रभु (अनामनगर), सनराइज (गैह्रीधारा), सिद्धार्थ (हात्तीसार), सानिमा (नक्साल), सेञ्चुरी कमर्शियल (पुतलीसडक), प्रभु मनी ट्रान्सफर (लैनचौर), सिटी एक्सप्रेस मनी ट्रान्सफर (कमलादी), आईएमई (पानीपोखरी) र सेवा रेमिट (कुलेश्वर) मा बचतपत्रका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

यसैगरी नेपालबाहिर कतार, मलेशिया, अमेरिका, भारत, साउदी अरब, यूएई, जापान, कोरिया, बहराइन, अष्ट्रेलिया, यूकेलगायत देशमा ८ विक्री एजेण्ट तोकिएका छन् । आईएमई, प्रभु मनि ट्रान्सफर, प्रभु बैक, सेञ्चुरी कमर्शियल बैक, सनराइज बैक, सेवा रेमिट र सानिमा बैकमार्फत आवेदन बुझाउन सकिने राष्ट्र बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ