वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

बैंकहरुमै सहकारीको भन्दा बढी व्याज, सहकारी समस्यामा

अर्थटुडे
२०७३ फाल्गुन ४, बुधबार

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी (तरलता) को अभाव भएपछि निजी क्षेत्रका वैंकहरुले व्याजदर उच्च बनाएपछि सहकारी संस्थाहरुलाई समस्या हुन थालेको छ । बैंकहरुले नै सहकारी सरह व्याज दिएपछि सहकारीबाट निक्षेप बैंकतिर जान थालेको सहकारीका संचालकहरु बताउछन् ।

नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) का संचालक कृष्ण पौडेल सहकारीबाट निक्षेप तान्नका लागि बैंकहरु लागिरहेको बताउछन् । “बैंकहरुले सहकारीको संस्थागत तथा व्यक्तिगत निक्षेप तान्नका लागि प्रतिस्पर्धा गरिरहेका छन्” उनले भने, “बैंकहरुले नै ११/१२ प्रतिशत व्याज दिन थालेपछि सहकारीलाई पनि ग्राहो हुन थालेको छ ।”

सहकारी क्षेत्रमा पनि तरलताको अभाव हुदै गएपनि बैंकहरुमा जस्तै कर्जा लगानी बन्द गर्नुपर्ने अवस्था भने आइनसकेको पौडेलले जानकारी दिए । “बैंकहरुजस्तो कर्जा बन्दै गर्नुपर्ने अवस्था त आएको छैन” उनले भने, “बैंकले नै सहकारीको सरह व्याज दिन थालेपछि भने हामीलाई ग्राहो भने हुन थालेको छ ।

केही महिनायता बैंकहरूमा तरलता (लगानीयोग्य पुँजी) अभाव भएपछि बैंकहरू निक्षेप खोज्दै भौतारिन थालेका हुन् । बैंकहरुले बढाएको कर्जाको अनुपातमा निक्षेप वृद्धि नहुँदा तरलताको अभाव भएको हो ।

तरलताको अभाव भएपछि बैंकहरुबिच निक्षेप तान्ने प्रतिस्पर्धा भइरहेको छ । सिद्धार्थ डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र नयाँ निक्षेप नथपिएको र पुरानै निक्षेप एक बैंकबाट अर्को बैंकमा सार्न प्रतिस्पर्धा चलिरहेको बताउछन् ।

“पुससम्म बाणिज्य बैंकलाई मात्र तरलताको समस्या थियो, माघबाट विकास बैंक र फाइनान्समा पनि यो रोग स¥र्यो” मिश्रले भने, “नयाँ निक्षेप खोज्नुभन्दा पनि एउटा कम्पनीबाट अर्को कम्पनीमा निक्षेप तानातान गरिरहेका छौं ।”
ललितपुरको सुमेरु सेभिङ एन्ड क्रेडिटका प्रबन्ध संचालक हेमराज दाहाल निक्षेप राख्न आग्रह गर्दै बैंकहरूको फोन आइरहेको बताउँछन् । “निक्षेपका लागि बैंकहरुबाट एकैदमै दवाव आइरहेको छ” उनले भने ।

सहकारीले घरदैलोमा पुगेर सर्वसाधारणबाट बचत संकलन गर्ने भएकाले बैंकहरूले ठूला सहकारीलाई जोड दिएका छन् । सहकारी विभागको तथ्यांकअनुसार हाल देशभरका सहकारीमा करिब २ खर्ब भन्दा बढी बचत छ । त्यसमध्ये काठमाडौंमा मात्रै १ खर्बभन्दा बढी रहेको डिभिजन सहकारी कार्यालय काठमाडौंले जनाएको छ ।

सर्वसाधारणको रकम आकर्षित गर्न बैंकहरूले निक्षेपको ब्याजदरसमेत बढाएका छन् । एक महिनायता बैंकमै निक्षेपको ब्याज बढेर १२ प्रतिशत हाराहारीमा पुगिसकेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ