काठमाडौं । पछिल्लो केहीसमययता बैंक तथा वित्तिय संस्थाहरुमा तरलताको चरम अभाव हुन छाडेको भनिए तरलताको समस्या अझै रहेको बैंकहरुले प्रकाशित गरेको दोस्रो त्रैमासिक रिपोर्टले पुष्टी गर्दछ ।
बैंक तथा वित्तिय संस्थामा पछिल्लो समय पनि तरलता अभाव कायमै रहेको छ । पुँजीगत खर्च हुन नसक्नु तरलता अभावको मुख्य कडी नै हो । सरकारले पुँजीगत खर्च भइरहेको जनाएपनि चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा आउदा समेत जम्मा ९.९३ प्रतिशत मात्र खर्च भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार निक्षेप र कर्जाको अनुपात झण्डै ७९ प्रतिशतमा नै पुगिसकेको छ ।
बाणिज्य बैंकहरुसँग पनि लगानीयोग्य रकम नभएको पुष्टी भइसकेको छ । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंकबाहेक अन्य बाणिज्य बैंकहरुमा तरलता अभाव चरममा पुगेको छ । राष्ट्रिय बाणिज्य बैंकको भने कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ६७.९७ प्रतिशतमा रहेको छ ।
बैंकहरुले नै जारी गरेको दोस्रो त्रैमासिक वित्तिय विवरणलाई हेर्ने हो भने कृषि विकास बैंक र जनता बैंकले राष्ट्र बैंकले दिएको सिडि रेसियोको सिमा नाघिसकेको छन् । कृषि विकास बैंकको सिडि रेसियो सवैभन्दा बढी ८२.९७ प्रतिशत पुगेको छ भने जनता बैंकको पनि सिडि रेसियो ८०.४६ पुगेको छ । कृषि विकास बैंक र जनता बैंकले राष्ट्र बैंकको निर्देशनलाई अवज्ञा गरेको देखिएको छ ।
त्यस्तै ८० प्रतिशतको हाराहारीमा देशको पुराना नीजि क्षेत्रका बैंकहरु नविल बैंक र हिमालयन बैंकको पनि लगानी पुगेको छ । त्यस्तै सिडि रेसियो ८० प्रतिशतको हाराहारीमा पुग्ने बाणिज्य बैंकहरुमा एसबिआए बैंक, माछापुच्छ्रपे बैंक, सिटिजन्स बैंक र सिभिल बैंक रहेको छ ।
त्यस्तै केही बैंकहरुमा तरलता सहज भएको पनि देख्न सकिन्छ । नेपाल बैंक, प्रभू बैंक र प्राइम बैंकहरुमा भने रकम अभाव भएको छैन । यी बाणिज्य बैंकहरुको सिडि रेसियो ७५ प्रतिशत वरीपरि नै रहेको छ । नेपाल राष्ट्र बैंकले बाणिज्य बैंकहरुको लागि कर्जा र निक्षेपको अनुपात ८० प्रतिशत र २० प्रतिशत तोकिदिएको छ ।
प्रतिक्रिया