काठमाडौं । नेपाल राष्ट्र बैंकले अटोलोनमा कडाई गरेपछि व्यवसायीहरुले त्यसको विरोध गरेका छन् । अटोमोवाइल्स डिलर एसोसिएसन (नाडा)ले बुधबार एक विज्ञप्ति जारी गरी अर्वौको रुपैयाँ डुव्ने भन्दै आक्रोस पोखेको छ । साथै नाडाले सो विषयमा पुनर्विचार गर्न राष्ट्र बैंकलाई आग्रह समेत गरेको छ ।
बैंक तथा वित्तिय संस्थाहरुले उत्पादनशील क्षेत्रमा भन्दा अनुत्पादनशील क्षेत्रमा लगानी बढी गरेको भन्दै राष्ट्र बैंकले अटोलोनमा नियन्त्रण गरेको हो । मंगलवार राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधि समिक्षामा निजी प्रयोजनका सवारी साधनमा ऋण प्रवाह गर्दा सो सवारीको मूल्याङकनको अधिकतम ५० प्रतिशतमात्र बैंकले लगानी गर्न सक्ने व्यवस्था गरेको छ ।
अटोलोनको सीमा निर्धारण गर्ने अधिकार ग्राहक र सम्बन्धित बैँक तथा वित्तीय संस्थालाई दिनु उपयुक्त हुने नाडाले जारी विज्ञप्तीमा उल्लेख छ । तुलनात्मक रुपमा सुरक्षित अटोमोवाइल्स क्षेत्रलाई खुम्च्याउन खोजिएको भन्दै यसप्रति संस्थाको गम्भिर ध्यानाकर्षण भएको पनि नाडाले जनाएको छ ।
निजी, सार्वजनिक, निर्माण तथा सेवाका लागि प्रयोग हुने सवारी साधन, स्पेयर पार्टस् सर्भिस सेन्टर, लुब्रिकेन्ट्स, टायरट्युब, व्याट्रि लगायतका व्यवसाय उत्पादकत्व बढाउने व्यवसाय रहेको संस्थाको ठहर छ ।
अटोमोवाइल्स क्षेत्रबाट राज्यलाई वार्षिक करीव खर्ब रुपैयाँ मूल्य बराबरको राजश्व र पाँच अर्ब रुपैयाँ मर्मतसम्भार दस्तुर तिर्ने गरेको बताउँदै नाडाले खरबौँको लगानी, बीसौँ लाखको रोजगारी, खर्बौं राजश्वको श्रोत, बैँकिङ्ग तथा बीमा व्यवसायको महत्वपूर्ण लगानी हुने साधनलाई उपेक्षा गरेर राष्ट्र निर्माण हुन नसक्ने बताएको छ ।
‘उत्पादनसँग प्रत्यक्ष सम्बन्ध रहेको सवारी साधन जति जति आवश्यक बन्दै छ त्यति त्यति निरुत्साहित गर्ने नीति ल्याउनु राम्रो होइन,’ नाडाले भनेको छ । राष्ट्र बैंकले ल्याएको नयाँ व्यवस्थाले व्यक्तिको सुविधा उपभोग गर्ने नैसर्गिक अधिकार कुन्ठित गरेको नाडाको ठहर छ ।
प्रतिक्रिया