वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिवारीको हत्यामा पुन नै दोषी रहेको प्रहरीको दाबी

अर्थटुडे
२०७३ फाल्गुन १५, आईतवार

लुम्बिनीः युवा संघ रूपन्देहीका तत्कालीन अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न भएकालाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक गरेको छ ।

जिप्रका रुपन्देहीले तिवारी हत्या काण्डमा संलग्न र जिल्लामा भएका डकैती, चोरी तथा संगठित अपराधमा संलग्नलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । प्रहरीले अध्यक्ष तिवारीको हत्याका मुख्य योजनाकार मनोज पुनः नै भएको उल्लेख गरेको छ ।

हत्यामा संलग्न १२ जनाको सूची सार्वजनिक गरेको छ । तीमध्ये मुख्य योजनाकार पुनसहित पाँच जना फरार छन् भने सात जना पक्राउ परेका छन् ।

रुपन्देहीका प्रहरी उपरीक्षक रवीन्द्र धानुकले व्यक्तिगत रिसईबी र आपराधिक मनोवृत्ति बढाई लुटपाट मच्चाउनकै लागि तिवारीको हत्या गराएको प्रहरी अनुसन्धानबाट खुल्न आएको बताए । तिवारी हत्याकाण्डमा योजनाकार रहेका सिद्धार्थनगर– ३ का विकास भनिने सोमबहादुर आले पनि फरार छन् । घटनामा सुटरका रुपमा राजु भनिने प्रयोग भएको र उनी पनि फरार रहेको प्रहरी उपरीक्षक धानुकले जानकारी दिए ।

सार्वजनिक गरिएका अभियुक्तमा देवदह नगरपालिका–६ का ३१ वर्षीय वसन्तबहादुर चापागाईँ, तिलोत्तमा नगरपालिका– १५ का २७ वर्षीय बुद्धिसागर यादव र २४ वर्षीय राजेश यादव, तिलोत्तमा– ८ का प्रयास भनिने ३३ वर्षीय खेमानन्द भट्टराई, देवदह नगरपालिका– ८ का २३ वर्षीय सागर थापा, रुपन्देही धकधई– ८ परासी झुङ्गाका २८ वर्षीय अङ्गद थारु र देवदह नगरपालिका– ९ का २८ वर्षीय ऋषिश्वर कुमाल छन् ।

प्रहरीका अनुसार चापागाईँले मनोज पुन भनिने मनोज बुढा मगरको निर्देशनबमोजिम घटनाको दिन दिनभरि तिवारीको गतिविधिको निगरानी गरी जानकारी गराउने भूमिका खेलेका थिए ।

प्रहरीले सो घटनामा स्थानीय तथा बाहिरी मानिसको संलग्नता पनि हुन सक्ने सम्भावना रहेको बताउँदै त्यसतर्फ गम्भीरतापूर्वक निगरानी भइरहेको बताएको छ । तिवारीको गत पुस ४ गते हत्या भएको थियो । हत्यामा संलग्न मुख्य योजनाकारसहित फरार अभियुक्तलाई छिट्टै सार्वजनिक गरिने प्रहरी उपरीक्षक धानुकले जानकारी दिए । रासस

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ