काठमाडौं । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले गभर्नर डा. चिरन्जिवी नेपाललाई असक्षमको संज्ञा दिएका छन् । नेकपा एमाले निकट नेपाल राष्ट्र बैंक कर्मचारी संघको सातौं अधिवेशनको उद्घाटन गर्दै पुर्वअर्थमन्त्री पाण्डेले घुमाउरो पारामा डा. नेपाललाई असक्षम गभर्नर भएको बताएका हुन् ।
उनले गभर्नर डा. नेपाललाई संकेत गर्दै गलत मान्छेको नियुक्तिपछि राम्रो नतिजा आउँछ भनेर आश गर्नु नै गलत हुने बताए । उनले अहिले बैंक तथा वित्तिय संस्थामा गहिरीएको तरलता अभाव लगायतका समस्या पनि सही मानिस गभर्नर नभएको परिणाम भएको बताए ।
उनले अख्तियारमा लोकमान सिंह कार्कीको नियुक्तिको प्रसंग कोट्याउँदै भने, ’अनुपयुक्त मान्छेलाई अनुपयुक्त तरिकाबाट नियुक्त गर्दा सही नतिजा आउँदैन’ ।अर्थमन्त्री पाण्डेले आफू अर्थमन्त्री हुदा चिनजानको मान्छेभन्दा पनि राष्ट्र बैंक सक्षम तरिकाले चलाउन सक्ने मान्छे खोजेको र नतिजा राम्रो आएको दावी गरे ।
उनले आफूले डा.युवराज खतिवडालाई गभर्नर बनाउदा वित्तिय स्थायित्व कायम रहेको दावी गर्दै भने,महाप्रसाद अधिकारीलाई सक्षम भएकोले मैले नचिनेपनि उपयुक्त मान्छे उपयुक्त ठाउँमा नियुक्त गर्नु पर्छ भनेर डेपुटी गभर्नर बनाएको बताए ।
उनले मान्छे इमान्दार भयो भने सजिलै काम गर्न सक्ने बताउँदै इमान्दारिता नभएकोबाट कामको अपेक्षा राख्न नसकिने पनि बताए । उनले अहिले बैंकिङ क्षेत्रमा समस्या आएको बताउँदै एमाले सरकारबाट वाहिरिने वित्तिकै नियमन कमजोर हुने गरेको तर्क गरे ।
पाण्डेले पूँजी बृद्धि उचित र अनुचित भनेर बस्नुभन्दा पनि कडाईका साथ लागू गर्दा हुने अप्ठेराका बारेमा सचेत हुनुपर्ने बताए । अधिवेसन उद्घाटन कार्यक्रममा संघले राष्ट्र बैंकका पूर्वगभर्नर डा. युवराज खतिवडा र पूर्व डेपुटी गभर्नर महाप्रसाद अधिकारीलाई सम्मान गरेको थियो ।
प्रतिक्रिया