वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

प्रधानमन्त्रीले भने, उर्जा यातायात र पर्यटन क्षेत्र नेपालको प्राथमिकतामा

अर्थटुडे
२०७३ फाल्गुन २४, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालले ऊर्जा, यातायात र पर्यटन क्षेत्र नेपालको प्राथमिकतामा रहेको बताएका छन् ।

२८ देशका ४३ वटा बैंक तथा वित्तीय संस्थाहरुको संगठन एलायन्स फर बैंकिङ अन भ्यालुज (जिएभि) सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भर्खरै सम्पन्न पूर्वाधार सम्मेलन र नेपाल लगानी सम्मेलनमा सरकार तथा प्रमुख प्रतिपक्ष दलले लगानीका लागि पूर्ण प्रतिबद्धता व्यक्त गरेको र यसबाट नेपालमा थप महत्वपूर्ण बैंक खुल्ने विश्वास दिलाए ।

सम्मेलनको उद्घाटन गर्दै उनले पुँजी निर्माणका लागि जीवन रक्षक मानिएको बैंक तथा वित्तीय संस्था आर्थिक विकास र समृद्धिको आधार भएको उल्लेख गरे ।  सरकारले केन्द्रीय बैंकमार्फत उत्पादनमूलक क्षेत्रमा लगानी प्रवद्र्धन गर्न पहल गरेको बताउँदै प्रधानमन्त्रीले सरकारले लगानीका लागि उपयुक्त वातावरण बनाउन अधिकतम प्रयास गरिरहेको स्पष्ट पारे ।

उदारीकरण अभियानअन्तर्गत दोस्रो चरणको वित्तीय सुधारलाई सरकारले अगाडि बढाएको जानकारी दिँदै उनले सो चरणको सुधारमा बैंक तथा वित्तीय संस्थाको प्रणालीलाई कानुनमार्फत थप समावेशी बनाइने बताए ।

सन् २०२२ सम्ममा नेपाल अल्पविकसित मुलुकबाट विकासोन्मुख मुलकमा रुपान्तरण हुन र सन् २०३० सम्ममा मध्यम आय हुने मुलुकको स्तरमा पुग्न पूर्वाधारमा ठूलो लगानी आवश्यक भएको बताउँदै प्रधानमन्त्रीले नेपालले ऊर्जा, यातायात र पर्यटन क्षेत्रमा विशेष लगानीको अपेक्षा गरिएको धारणा राखे । ‘भ्यालुबेस्ड बैंकिङ’मार्फत व्यापार, उद्योग तथा उद्यमशीलतालाई बढाउन उनले जोड दिए ।

कार्यक्रममा बोल्दै गर्भनर डा. चिरञ्जीवी नेपालले मूल्य मान्यता आधारित बैंकिङ प्रणालीमा जोड दिन बैंकहरुलाई आग्रह गरे ।

नाफाभन्दा जनता तथा समुदायको हित, असल शासन, जिम्मेवारी, पारदर्शिता, सामाजिक उत्तरदायित्व र  बैंकिङ आचारमा प्राथमिकता दिने उद्देश्यले आयोजना गरिएको सम्मेलनको विभिन्न मुलुकका ४० बढी बैंकिङ संस्थाका प्रमुख कार्यकारी अधिकृतको सहभागिता छ । सम्मेलनको आयोजकका रुपमा एनएमबी बैंक रहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ