काठमाडौं । केही महिनायता मुल्यबृद्धि दर कम हुदै गएको छ । नेपाल राष्ट्र बैंकका अनुसार माघ महिनामा मूल्य बृद्धि दर ३.३ प्रतिशतमा झरेको छ । गत बर्षको सोही अबधिमा मूल्य बृद्धि दर ११.३ प्रतिशत थियो ।
राष्ट्र बैंकका अनुसार गत बर्ष भारतीय नाकाबन्दीले भाउ बढाएको थियो । खासगरी खाद्यन्न र माछामासुको भाउ तल झरेको छ । यसैगरी माघ महिनामा कुल ब्यापार घाटा पाँच खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको सात महिनामा निर्यात १५.२ प्रतिशतले बढेर ४२ अर्ब १८ करोड पुगेको छ भने आयात भने ६०.८ प्रतिशतले बढेर ५ खर्ब ५६ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । निर्यातभन्दा आयात ६६ प्रतिशत बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी रेमिटेन्स बृद्धिदरमा पनि कमी आएको छ । गत वर्षको पहिलो सात महिनामा १७ प्रतिशतले बढेको रेमिट्यान्स यस वर्षको सोही अवधिमा ५.२ प्रतिशतले मात्र बढेर तीन खर्ब ९४ अर्ब ५७ करोड रुपैयाँ मात्र रेमिटेन्स नेपालमा भित्रिएको छ । यसरी रेमिट्यान्समा कमी आउनु समग्र नेपाली अर्थतन्त्रको लागि नकारात्मक संन्देश हो ।
रेमिटेन्सको बृद्धि दर घट्दै गएको र ब्यापार घाटा चुँलिँदै गएपछि बचतमा रहेको चालु खाता १० अर्ब ६६ करोड घाटामा गएको छ । गत बर्षका सोही अवधिमा चालु खाता १ खर्ब ५४ अर्ब ७८ करोड उच्च बचतमा थियो ।
यस अवधिमा शोधनान्तर बचतमा पनि कमी आएको छ । गत बर्ष एक खर्ब ५४ अर्ब ४० करोड बचतमा रहेको शोधनान्तर यसपाली माघमा ३६ अर्ब ९८ करोड रुपैयाँ मात्र बचतमा छ ।
प्रतिक्रिया