भक्तपुर । भक्तपुरका यातायात ब्यवसायीले भक्तपुरमा साझा बस भित्र्याए ग्रामीण भेगका सम्पूर्ण रुट ठप्प पार्ने चेतावनी दिएका छन् । भक्तपुरमा आयोजना गरिएको एक कार्यक्रममा ब्यवसायीहरुले साझा यातायातले शहरी भेगमा मात्र रुट सञ्चालन गर्न लागेको भन्दै विरोध जनाएका छन् । उनीहरुले यदि यसो भए भक्तपुरका ग्रामीण भेगमा सवारी ठप्प पार्ने चेतावनी दिएका हुन् ।
भक्तपुर मिनिवस सेवा समितिका अध्यक्ष ज्ञानेन्द्र महर्जनले समिति अन्र्तगत १७ रुटका ३ सय ३७ गाडी सञ्चालनमा रहेपनि यात्रुहरुको सेवालाई ध्यान दिएर थप ४० वटा साझा बससरहका गाडी मगाइएको बताउँदै साझा बस भित्रीए ग्रामीण रुट ठप्प पार्ने बताए ।
उनले ग्रामीण भेगमा घाटा सहेर पनि यातायात सञ्चालन गरिरहेको बताउँदै शहरी भेगमा नाफा कमाउने हिसावले साझा बस भित्राउन खोजिएको बताए । उनले सरकारले पहिला भक्तपुरमा साझा बस नपठाएको र ब्यवसायीले साझा बस भन्दा सुबिधा सम्पन्न बस भित्राउन थाले पछि काठमाडौंमा घाटा भएका बस भक्तपुरमा पठाउन थालेको आरोप लगाउँदै उनले भने, ‘हामी साझा बस भन्दा बढी सुबिधा दिन लाग्दा किन बिवाद बढाएको हो बुझ्न सकेको छैनौ ।’
कोटेश्वर पूर्व बस समन्वय समितिका अध्यक्ष बलराम त्वानाबासुले नयाँ आउन लागेका साझा बस नयाँ नभएको र त्यसले जनताको समस्याको सम्बोधन नगर्ने उनले बताए । यात्रुहरुको सेवासुविधालाई ध्यान दिँर्दै समितिले प्रति मिनेटमा सेवा दिइरहेको ब्यवसायीको भनाइ छ ।
भक्तपुर मिनिवस सेवा समितिका पूर्व अध्यक्षहरु रामकाजी भुजू र राजन कसलवटले सरकारले सहकारीबाट ऋण लिएर सञ्चालनमा रहेका बसहरुलाई बन्द गराउँदै सहकारी डुबाउने खेलमा लागेको आरोप लगाए ।
प्रतिक्रिया