वि.सं. २०८२ कार्तिक ४
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

एक हप्तामा नै २३० अंकले किन बढ्यो बजार ?

अर्थटुडे
२०७३ चैत्र १६, बुधबार

काठमाडौं ।  पछिल्लो केहीदिन यता बजार बुलिस ट्रेन्डमा गइरहेको छ । केही हप्ता अघिसम्म दैनिक ३४ करोडको हाराहारीमा कारोबार हुने गरेको बजारमा अहिले करिव डेढ अर्बको कारोबार भइरहेको छ । बजार दैनिक दोहोरो अंकले बढेको छ । दुईहप्ता अघिसम्म बजार १२५० अंकको हाराहारीमा रहेको थियो ।

त्यतिबेला लगानीकर्ताहरु अत्तालिएका थिए । केही राम्रा कम्पनीमा लगानी गरेका लगानीकर्ताहरु बाहेक ऋण काडेर बजारमा लगानी गरेकाहरु बढी अत्तालिएर आफूसँग भएको सेयर बेच्न थाले जसले बजारलाई ओरालो लाग्न थप मद्धत मिल्यो ।
गत साताको पहिलो कारोबारको दिन आइतबार बजार १३८२.३८ अंकमा अडिएको थियो । यो साताको मंगलबार बजार ७७ अंकले बढेर बजार १६१० सम्म पुगेको छ । यसरी हप्तादिनमा नै बजारमा करिव २३० अंकले बढ्नु रहस्यमय रहेको छ । यसरी बजार रहस्यमय ढंगबाट उकालो लाग्दा लगानीकर्ताहरु अचम्ममा परेका छन् ।

बजार किन बढ्यो ? यसविषयमा बजार विष्लेषक रविन्द्र भट्राई भन्छन् —बजार पुस देखि चैत सम्म प्राय बजार घट्ने गरेको छ । हामीले पहिलेको बजार ट्रेन्डलाई पनि हेर्ने गरौ । पहिलेदेखि नै चैत महिनादेखि बजार उकालो लाग्छ ।
बजार विष्लेषकहरुका अनुसार दलाल कम्पनीहरु उपत्यका बाहिर गएर सेयर कारोबार सुरु गर्न थाले यसले गर्दा बजारमा उपत्यका बाहिरका व्यक्तिहरुको पनि पहुँच भयो र बजार बढ्नमा मद्धत गर्यो ।

उपत्यका बाहिरबाट पनि सेयर कारोबार हुन थालेपछि दोस्रो बजारमा लगानी गर्नकै लागि काठमाडौ धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ, जसले गर्दा बजारमा प्रबेश नगरेका तर बजारबारे चासो र जानकार व्यक्तिहरुको पनि बजारमा प्रबेश भयो । जसले बजार बढाउन सकारात्मक भुमिका निर्वाह गर्यो ।

त्यस्तै बजारमा ठूला लगानीकर्ताहरुको आगमन पनि भयो । माघ फागुनमा आफूसँग भएको सेयर बेचेर हकप्रद सेयर भर्नका लागि रकम सुरक्षित गरिरहेका लगानीकर्ताहरु पनि पुनः बजारमा प्रबेश गरे ।  त्यस्तै ठूला दर (५०० र १०००) का भारतीय रुपैयाँ बोकेर बसेका सेयर लगानीकर्ताहरु ति दरका भारु साटिने भएपछि  पुन बजारमा आएर लगानी गर्न थाले ।

त्यसैगरी बैंक तथा वित्तिय संस्थामा कल डिपोजिटमा रहेको रकम पनि सेयर बजारमा आएको छ । नेपाल राष्ट्र बैंकले कल डिपोजिटमा बचतमा भन्दा धेरै व्याज दिन नमिल्ने व्यवस्था गरेसँगै सो रकम पनि धितोपत्र बजारमा आएको हो । यो रकमले पनि बजारलाई उकालो लाग्न राम्रो सहयोग गर्यो ।

केही दिन यता स्थानीय चुनावको चहलपहल पनि ह्वात्तै बढीरहेको छ । स्थानीय चुनाव भएपछि वित्तिय प्रणालीमा रकम आउने अपेक्षा गर्दै लगानीकर्ताहरु थप उत्साहित भएका छन् । जसले बजार बढाउनको लागि राम्रो रोल खेलेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ