काठमाडौं । नवनिर्वाचित नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आर्थिक समृद्धिको जग हाल्नको लागि पनि निर्वाचन आवश्यक रहेको बताएकी छिन् । काठमाडौं आयोजना भएको एक कार्यक्रममा बोल्दै अध्यक्ष राणाले आर्थिक क्रान्तिको जग हाल्न र मुलुकलाई समृद्धिको यात्रामा अघि बढाउन निर्वाचन अपरिहार्य रहेको बताएकी हुन् । उनले नयाँ वर्ष ०७४ साल निर्वाचन र आर्थिक समृद्धिको वर्ष हुने समेत स्पष्ट पारिन् ।
राणाले आफ्नो नेतृत्वको उद्योग वाणिज्य महासंघले आर्थिक समृद्धिको लागि विशेष योजनासहित काम गर्ने बताउँदै भनिन् ‘मुलुकले विकाससँगै यतिवेला समृद्धि चाहेको छ, विकासको विकल्प छैन, मेरो नेतृत्वको महासंघले सरकारसँगको सहकार्यमा आर्थिक समृद्धिका कामहरुलाई अघि बढाउँछौं ।’
उनले महासंघका अघिल्ला नेतृत्वहरुले अघि सारेका नीति तथा कार्यक्रमहरुलाई समेत आफूले निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै उनले सम्बन्धित मन्त्रालयसँगको समन्वय तथा सहकार्यमा देशका विभिन्न ठाउँहरुमा स्मार्ट सिटी बनाउने प्रतिबद्धतता व्यक्त गरिन् ।
त्यस्तै नवनिर्वाचति बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले,‘देशमा विकासको खाँचो छ, हामी अब गाउँदेखि सहरसम्म विकासका एजेण्डाहरु लिएर यात्रा गर्नेर्छौं’ भने । चुनाव सम्पन्न भएलगत्तै महासंघमा कुनै गुट/उपगुट नरहेको जिकिर गर्दै गोल्छाले भने,‘महासंघमा कुनैपनि किसिमको गुट तथा उपगुट छैन, हामी एक ढिक्का भएर संस्थालाई अघि बढाउँछौं ।’
त्यस्तै उनले महासंघको ईतिहासमा पहिलो पटक महिला नेतृत्व आएकोमा सबैले गौरव गर्नुपर्ने उल्लेख गर्दै अध्यक्षले अघि सारेका विकासका सपना र आर्थिक एजेण्डाहरुलाई सार्थक तथा कार्यान्व्यन गराउन पहलकदमी लिने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया