काठमाडौं । सहकारी क्षेत्रको तथ्यांक व्यवस्थित गर्नका लागि सरकारले आजदेखि सहकारी तथा गरिवी निवारणसम्बन्धी व्यवस्थापक सूचना प्रणाली (कोपोमिक्स) लागू गर्ने भएको छ । आजबाट डिभिजन सहकारी कार्यालय काठमाडौंमा यो प्रणाली लागू गर्न लागिएको सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।
सहकारीमा सूचना प्रणाली लागू भएपछि मन्त्रालय, सहकारी विभाग, संघका साथै प्रारम्भिक सहकारी संस्थाका कारोबारलगायत सबै विवरण सफ्टवेयर प्रणालीमा राखिन्छ । यसबाट सहकारी क्षेत्रको वास्तविक अवस्था थाहा हुने र नियामक निकायलाई समेत अनुगमन हुनेछ ।
सूचना प्रणाली डिभिजन कार्यालय हुँदै पहिलो चरणमा उपत्यकाका ५० करोडभन्दा बढी कारोबार गर्ने सहकारीबाट सुरु गर्ने विभागको तयारी छ । यो प्रणाली लागू भएपछि सहकारी संस्थाले आफ्नो कारोबार विवरण यसैमा अद्यवधिक गर्नेछन् र यसैका आधारमा विभाग र केन्द्रीय संघहरुले संस्थाको ‘अफसाइट’ अनुगमन गर्न सक्नेछन् ।
अहिले सहकारी संस्थाहरुले डिभिजन कार्यालयमा गएर विवरण बुझाउनुपर्ने बाध्यता छ । त्यसबाट सहकारीको कारोबारको वास्तवित तथ्यांक पनि आउन सकेको छैन । विभागका अनुसार हाल देशभर ३३ हजार ६ प्रारम्भिक सहकारी संस्था संचालनमा छन् । जसबाट दुई खर्बभन्दा बढी निक्षेप संकलन र सोही हाराहारीमा कर्जा प्रवाह भएको छ । तर यी सहकारीको प्रभावकारी अनुगमन र कारवाहीको व्यवस्था नुहँदा सहकारीमा विकृती समेत बढीरहेको छ ।
प्रतिक्रिया