काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङले एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप आफ्नो चरित्र हत्या गर्ने प्रयास गरेको बताएका छन् । उनले मंगलबार पत्रकार सम्मेलन गरी आफूले चिलिमेदेखि नै इमान्दारितापूर्वक काम गरेको र अहिले पनि इमान्दार भएर नै काम गरिरहेको बताए । बल्ब किन्दा पैसा खानुपर्ने नाजुक अवस्था आफ्नो नरहेको भन्दै पैसा खानु नै छ भने २÷४ घन्टा लोडसेडिङ गर्दा नै करोडौं कमाएर बस्न सक्ने बताए ।
उनले पत्रकार सम्मेलनमा आफ्ना विरोधीलाई चुनौति दिदै भने ‘यदि कुनै कुनियत देखियो भने हामीलाई झुण्ड्याइदिए हुन्छ । अन्यथा यस्ता गलत प्रचार नगरिदिनु होला ।’ उनले आफ्ना विरोधीहरुले आफूमाथि गम्भीर आरोप बनाएको र यसले काम गर्ने वातावरण विग्रन सक्ने बताए ।
भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिए । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताए ।
विद्युत प्राधिकरणले भारतीय इनर्जी इफिसेन्सी सर्भिस लिमिटेडसँग एलइडी बल्ब किन्न लागेको थियो । सो काम माथि प्रश्न चिन्ह उठेपछि उनले पत्रकार सम्मेलन गरेका हुन् । प्राधिकरणले ६५ भारुमा किनेर सरकारको कर तिरेर १३५ देखि १४० रुपैयाँमा जनतालाई दिन लागिएको उनले बताए ।
घिसिङले पत्रकार सम्मेलनमा भारतीय सरकारी कम्पनि र नेपाल सरकारबीच भएको सम्झौता पत्र तथा एलइडी बल्बलाई पर्ने मूल्य अंकित बिलसमेत सार्बजनिक गरेका थिए ।
प्रतिक्रिया