काठमाडौ । सरकारले सोमबार आगामी आर्थिक बर्षको लागि ल्याएको बजेट राम्रो भएको पूर्वअर्थमन्त्रीहरुले बताएका छन् । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले हालै ल्याएको बजेट समयमा नै आएकोले यसले ईतिहासमा पहिलो दर्ज गरेको उल्लेख गरे ।
उनले भने,‘यसपालि समयमै बजेट आएको छ, सम्मानीय प्रधानमन्त्री क. प्रचण्ड र अर्थमन्त्री क. महराको नेतृत्वमा संघीय बजेटको रुप दर्ज भएको छ, यो खुशीको कुरा हो, यो एउटा ईतिहाँसमै पहिलो दर्ज भएको छ ।’
उनले दोस्रो चरणको निर्वाचनकोबीचमा बजेट आएकोले आचारसंहितालाई ध्यान दिएर बजेट आएको समेत स्पष्ट पारे । पुनले भने,‘संघीय स्वरुप अनुसार नै स्थानीय तह वा सरकारलाई पर्याप्त बजेट गएको छ ।’ उनका अनुसार मनाङमा ५ सय जनसंख्या भएको गाउँपालिकामा पनि न्यूनतम् दश करोड बजेट गएको छ । उनले केन्द्रिय तहबा स्थानीय तहमा बजेट पर्याप्त रुपमा पुगेकोमा खुशी व्यक्त गर्दै यो अत्यन्तै सकारात्मक पक्ष भएको बताए ।
उनले बजेटका राम्रा विशेषताहरुमा राष्ट्रिय गौरवका आयोजनाहरुलाई समयमै सम्पन्न गर्नेगरि मुठ्ठी फुकाएर बजेट विनियोजन गरिएको समेत स्पष्ट पारे । उनका अनुसार सरकारले हुलाकी राजमार्ग, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण, फाष्ट ट्रयाक, हुलाकी राजमार्ग, जलविद्युत आयोजनामा राम्रो बजेट विनियोजन गरिएको छ ।
त्यस्तै सरकारले ठूला आयोजना अन्र्तगर्त उज्यालो नेपाल अन्र्तर्गत उर्जा क्षेत्रमा ७८ अर्व विनियोजन गरिएको यो बजेटको राम्रो विशेषता रहेको पुनले बताए । त्यस्तै यही माघ ७ गतेभित्र तीन तहकै निर्वाचन सम्पन्न गर्नको लागि सुनिश्चिततासहित बजेट विनियोजन भएकोमा प्रंशसा गरेका थिए ।
यद्धपी उनले बजेटको आकार ठूलो भएको भन्ने गुनासो भएपनि यसको स्रोत राजश्व संकलन नै रहेको बताए । उनले भने,‘कर २० प्रतिशतले वृद्धि हुन्छ, त्यसैले यो लक्ष्य सजिलै हाँसिल हुन्छ ।’
सोही कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका शीर्ष नेता एवम् पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीले पनि बजेट समग्रमा राम्रो भएको प्रतिक्रिया दिएका छन् । अधिकारीले भने,‘बजेट राम्रो छ । अधिकारीले राष्ट्रिय गौरवको आयोजनाहरुलाई निरन्तरता दिएकोमा खुशी व्यक्त गर्दै यसलाई कार्यान्वयन गर्नतिर ध्यान दिनुपर्नेमा जोड दिए । त्यस्तै उनले पुँजीगत खर्च अत्यन्तै कम भएकोमा भने चिन्ता व्यक्त गरे ।
त्यस्तै उनले काठमाडौं–तराई द्रुत मार्ग परियोजना, तीन वटा अन्र्तराष्ट्रिय विमानस्थल निर्माण कार्यलाई एकाउन्टेवल बनाउनुपर्नेमा जोड दिए । अधिकारीले बजेटले गरिबी निवारणसम्बन्धी प्रभावकारी कार्यक्रम ल्याउन नसकेको गुनासो पोखे । उनले भने,‘गरिबीको रेखामुनी बस्नेहरुको संख्या ह्वात्तै बढेको छ, गरिबी निवारणका कामहरु ह्ुन सकेका छैनन्, विदेशी सहायताहरु विचौलीयाहरुले बिचमै खाने गरेका छन्, यतातिर सरकारको ध्यान पुग्नुपर्छ ।’ उनले गरिबी निवारणसम्बन्धी कार्यक्रमहरुलाई एकद्धार प्रणालीमा सञ्चालन गर्नुपर्ने समेत बताए ।
उनले बजेटले संघीयतालाई कार्यान्वयन गर्न जोड दिएको छ । यद्धपी उनले स्थानीय निकायलाई रकम भने अपूरो भएको गुनासो पोखे । त्यस्तै उनले आफूले त कृषिमा कम्तिमा ५० अर्व रकम विनियोजन गर्नुपर्ने भनेपनि जम्मा ३० अर्ब मात्रै छुट्याएको स्पष्ट पारे ।
अधिकारीले पूर्व–पश्चिम राजमार्ग, हुलाकी राजमार्ग, रेल–वे, फाष्ट ट्रयाकजस्ता परियोजनाहरुलाई अघि बढाउन पर्याप्त रकम विनीयोजन भएकोमा खुशी व्यक्त गरे । त्यस्तै चीनसँगको ओबोरमा हस्ताक्षर गरेपछि पूर्वाधार विकास अघि बढ्ने भएकोले यसलाई समयमै कार्यान्वयन गर्नुपर्नेतिर विशेष ध्यान दिनुपर्छ ।
त्यस्तै गरी पूर्वअर्थमन्त्री डा. शंकरप्रसाद कोइरालाले पनि बजेट विशिष्ट परिस्थितिमा आएको भएपनि यसले आशाका किरणहरु ल्याएको बताए । कोइरालाले बजेट दुई दलीय सहमतिमा आएको भएपनि यो बजेटलाई राजनीतिक सहमतिमा ल्याईएको गैर–राजनैतिक बजेटको संज्ञा दिए ।
उनले अर्थमन्त्रीलाई हात खुट्टा बाँधेर बजेट ल्याउन भनिएको भएपनि सकारात्मक पक्षहरु समेटेर बजेट आएकोमा खुशी व्यक्त गरे । उनले भने,‘यो बजेट चुनावी आचारसंहिताले बाँधिएर आएको छ, समग्रमा बजेट राम्रो छ, यसले तीन तहकै निर्वाचन संविधानले तोकेको समयसिमाभित्रै सम्पन्न गर्नको लागि सुनिश्चितता गरेको छ ।’ त्यस्तै आर्थिक वृद्धिदर ७.२ प्रतिशत प्रक्षेपण गरिएको र उक्त वृद्धिदर हाँसिल हुने समेत विश्वास व्यक्त गरे ।
त्यस्तै उनले बजेटको आकार ठूलो हुनु अलिकति अशोभनीय भएको टिप्पणी गरे । उनले भने,‘हाम्रो कुल ग्राहस्थ भनेको २६ खर्ब हो, जिडीबीको ४० प्रतिशतमात्रै बजेटमा ल्याउनुपर्ने हो, यो चाहीँ ठाडै उल्लंघन भएको छ।’ उनले अहिलेको बजेटको आकार हेर्दा जिडीपीको झण्डै ५० प्रतिशत बजेट आएको बताए ।
त्यस्तै बजेटले नीजी क्षेत्रलको मनोवल र हौसललाई प्रदान नगरेको गुनासो पोखे । उनले भने,‘यो बजेटले नीजी क्षेत्रलाई त्यति उत्साह प्रदान गरेको छैन, आयातमा मात्रै हामी केन्द्रित भयौं, निर्यात अत्यन्तै कम भएको छ, यतातिर पनि ध्यान दिईनुपर्ने थियो ।’
प्रतिक्रिया