वि.सं. २०८२ कार्तिक २
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारी संघसंस्थाका प्रकाशन,सदस्यलाई सूचना कि नाफा कमाउने माध्यम ?

अर्थटुडे
२०७४ जेष्ठ २२, सोमबार

सदस्यहरुलाई सूचना प्रवाह गर्ने नाममा सहकारी संघहरु पत्रिका प्रकाशन गरेर नाफा कमाउने माध्यम बनाउन थालेका छन् । सहकारी संस्थाहरुको अभिभावक निकाय राष्ट्रिय सहकारी संघदेखि केन्द्रीय संघहरु समेत नियमित पत्रिका प्रकाशनमा लागेका छन् । उनीहरुले पत्रिका प्रकाशन गरी आफ्ना सूचनाहरु सदस्यलाई पुर्याउने भन्दा पनि सदस्यहरुबाट विज्ञापन उठाएर नाफा कमाउनमा केन्द्रीत भएको देखिन्छ ।

सदस्य संघ संस्थाबाट विज्ञापन संकलन गर्ने गरी पत्रिका प्रकाशनमा अग्रस्थानमा देखिएको छ राष्ट्रिय सहकारी संघ । संघले जिल्ला प्रशासन कार्यालयमा नै दर्ता गरेर मासिक रुपमा सहकारी सन्देश प्रकाशन गर्दै आएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको पत्रिकाको दर्ता नम्बर ११५\०५८\०५९ रहेको छ ।

राष्ट्रिय संघको पत्रिका सुरुमा प्रवन्धक बावुल खनालले सम्पादन गर्दै आएका थिए । उनले कमसिनका आधारमा कर्मचारी राखेर बजारबाट विज्ञापन उठाएपनि संघमा आम्दानी कम देखाएर आफ्नोे खल्ती भर्ने गरेको स्रोत बताउछ । खनाल अध्ययनका लागि जापान गएसँगै पत्रिकाको जिम्मेवारी बरिष्ठ प्रवन्धक चित्रा थामसुहाङले सम्हाल्दै आएकी छिन् ।
संचालक समितिले प्रकाशनलाई नियमित र व्यवस्थित बनाउनका लागि भन्दै सूचना तथा प्रकाशन उपसमिति समेत बनाएको छ । चन्द्र प्रसाद ढकाल संयोजक रहेको समितिमा तारा लामा तामाङ र विपिन शर्मा सदस्य रहेका छन् । विपिन स्वयंम आफै पत्रिका र अनलाईनका संचालक हुन् ।

ढकाल संयोजक रहेको समितिले प्रकाशनलाई व्यवस्थित र स्तरिय बनाउने भन्दै रामसुदन तिमल्सिनालाई सम्मादकमा नियुक्ती दिएको छ । यसैगरी विज्ञापनको काममा अनियमितता भएको भन्दै वावुल खनालले कमिसनका राखेका अर्जुन खतिवडा, गोविन्द गिरी, ऋषिराम ढकाल, मोहन मैनाली, अनन्त शर्मालाई निकालिएको थियो । त्यसैगरी केदार बास्कोटालाई भने हाल सहसम्पादकको रुपमा करार नियुक्त दिइएको छ ।

पत्रिकाले प्रकाशनको सहयोगीका रुपमा सहकारी तथा गरिवी निवारण मन्त्रालयलाई समेत राखेको छ । पत्रिकामा मूल्य उल्लेख समेत गरिएको छैन । मन्त्रालयबाट सहयोग लिएपनि संघका उच्च व्यवस्थापन भने पत्रिकाको वार्षिक ग्राहक बनाउन र विज्ञापन संकलनमा केन्द्रीत हुने गरेको स्रोत बताउँछ । राष्ट्रिय संघका जिएम,डिजिएम आफै ग्राहक बनाउन, विज्ञापन माग्न आउनुहुन्छ कसरी नाइ भन्नु— एक सहकारीका संचालकले भने । पत्रिका प्रकाशनमार्फत संघको आम्दानी पनि उच्च देखिएको छ । गत आर्थिक वर्षमा संघले पत्रिका प्रकाशबाटै २६ लाख आम्दानी गरेको छ । यसवर्ष विज्ञापनबाट ८० लाख उठाउने लक्ष्य निर्धारण गरिएको छ ।

राष्ट्रिय संघको अनुसरण गर्दै बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफ्स्कून) ले पनि साकोस आवाज त्रैमासिक पत्रिका प्रकाशन थालेको छ । यसैगरी नेफ्स्कून खबर अनलाईन समेत सुरु गरेको छ । यसैका लागि उसले राधा चालिसेलाई सूचना तथा संचार अधिकृत नियुक्त गरेको छ । नेफ्स्कूनले पनि सदस्यहरुबाटै विज्ञापन संकलन र नाफामा जोड दिएको छ । उसले भने पत्रिका दर्ता गरेको देखिदैन । मूल्य उल्लेख नगरेपनि उसले पत्रिकाको वार्षिक ग्राहक बनाएर रकम संकलन गर्ने गरेको सहकारीकर्मीको गुनासो छ ।

यसैगरी राष्ट्रिय सहकारी विकास बोर्डले पनि मासिक पत्रिका, टेलिभिजन कार्यक्रम र रेडियो कार्यक्रम संचालन गरिरहेको छ । बोर्डले आफ्नै खर्चमा संचालन गरेको बताएपनि यसमा समग्र सहकारीका गतिविधि भन्दा बोर्ड र यसको नेतृत्वकै प्रचारप्रसारमा लाग्ने गरेको छ । यसैगरी संघहरुका प्रकाशन पनि समग्र सहकारीको भन्दा आफ्नै नेतृत्वमा प्रचारप्रसार केन्द्रीत हुने गरेको गुनासो छ ।

पछिल्लो समयमा कृषि सहकारी केन्द्रीय संघले पनि पत्रिका प्रकाशन सुरु गरेको छ । यसबाहेक अन्य जिल्ला संघहरुले पनि वार्षिक रुपमा भएपनि स्मारिका प्रकाशन गरिरहेका छन् । सहकारीका संघहरुले प्रकाशन गर्ने पत्रिकाहरु प्रभावकारी नभएको र सदस्यहरुलाई विज्ञापनका लागि दवाव दिएको सहकारीकर्मीहरु गुनासो गर्छन् । “सहकारीका संघहरुका उच्च नेतृत्व नै पत्रिकाका लागि विज्ञापन उठाउन र ग्राहक बनाउन हिड्नु गलत हो” सहकारीकर्मी तुलसी प्रसाद सापकोटले सहकारी विभागको कार्यक्रममै प्रश्न उठाएका थिए ।
बर्तमान सहकारी मासिकबाट

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ