काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोग २०७१ का अध्यक्ष तथा सदस्यलाई पक्राउको लागि सार्वजनिक सुचना प्रकाशित गरेको छ । आयोगले बोलाएको समयमा बयानका लागि नगएपछि कर फछ्र्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकाललाई पक्राउ गर्नको लागिसार्वजनिक सूचना प्रकाशित गरेको हो ।
बिहीबार गोरखापत्र दैनिकको प्रथम पृष्ठमा सार्वजनिक सूचना प्रकाशित गरि अख्तियार अनुसन्धान आयोगले उनीहरुलाई देख्ने या फेला पार्ने जो सुकैले आयोगको हटलाइन १०७ नम्बरमा फोन गरिदिए या नजिकको प्रहरी कार्यालयमा बुझाए उचित पुरस्कार दिने समेत जनाएको छ ।
बयानका लागि उपस्थित हुन सूचना जारी गरिएकोमा महत र ढकाल फरार रहेको अख्तियारले उल्लेख गरेको छ ।
सूचनामा ढकाल र महतको फोटो एवं स्थायी तथा हाल बसोबास रहेको ठाउँको ठेगाना समेत दिइएको छ । उनीहरुलाई वयानका लागि उपस्थित हुन अख्तियारले दुई साता अघिनै पत्र पठाएको थियो । तर, उनीहरु वयान दिन नगइ फरार भएका छन् ।
उनीहरुले आयोग मार्फत ३० अर्ब रुपैयाँ कर फर्छ्यौट गर्दा २१ अर्ब रुपैयाँ छुट दिइ भ्रष्टाचार गरेको अख्तियारको आरोप छ । सर्वसाधारणबाट उठाएको भ्याट समेत व्यापारीलाई छुट दिएकोमा सरकारी आयव्ययको अडिट गर्ने अर्को संवैधानिक निकाय महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाएपछि अख्तियारले उनीहरु माथि छानविन सुरु गरेको थियो।
आयोगका अर्का सदस्य रहेका आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मालाई भने यस अघि नै अख्तियारले आफ्नो हिरासतमा लिइ सकेको छ ।
प्रतिक्रिया