काठमाडौं । मुस्लिम समुदायको महान पर्व इदुलफित्र (ईद) को अवसरमा सरकारले सोमबार सार्वजनिक बिदा दिने भएको छ । एक महिना रोजा (व्रत) रमादान सकिएको उपलक्ष्यमा तीन दिनसम्म हर्सोल्लासका साथ इद मनाइने गरेको छ ।
कतार, साउदी लगायतका देशमा आज मनाइएकोले भोलि नेपालमा इदुलफित्र मनाउने तयारी भएको छ । गल्फमा आइतबार (आज) चन्द्रमा देखिए सरकारले भोलि सार्वजनिक बिदा दिनेछ । गृहमन्त्रीस्तरीय बैठकले विदाको निर्णय गर्नेछ भने गृहमन्त्रालयले सार्वजनिक सूचनामार्फत जानकारी दिनेछ ।
यसैगरी सरकारले दोश्रो चरणको स्थानीय निकायको चुनावको लागि सार्वजनिक विदा दिने भएको छ ।
निर्वाचन हुन लागेका प्रदेशहरुमा आइतबारबाटै सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द समेत भएको जनाइएको छ । प्रदेश नम्बर १, ५ र ७ मा असार ११, १२, १३ र १४ गते स्कुल, कलेज लगायतका सबै शिक्षण संस्थाहरु बन्द गरिएको हो ।
मतदान केन्द्रहरु धेरैजसो विद्यालय र क्याम्पसहरुमा राखिएकाले चार दिनसम्म पठन पाठन बन्द गरिदिन निर्वाचन आयोगले गरेको आग्रह अनुसार सरकारले यसअघि नै यो निर्णय गरेको थियो ।
मतदानको दिन असार १४ गते भने सरकारले सार्बजनिक विदा दिने निर्णय गरेको छ । मतदानको दिन सबै सरकारी, अर्धसरकारी तथा सार्बजनिक संस्थानहरुमा सार्बजनिक विदा हुनेछ ।
दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाहरुमा असार १४ गते स्थानीय तहको चुनाव हुँदैछ । पहिलो चरणमा भने ३, ४ र ६ नम्बर प्रदेशमा गत बैशाख ३१ गते चुनाव भएको थियो । २ नम्बर प्रदेशमा भने आगामी असोज २ गते चुनाव गर्ने सरकारले निर्णय गरेको छ ।
प्रतिक्रिया