काठमाडौं । राष्ट्रिय सहकारी संघका साथै विभिन्न संघसंस्थाले उत्कृष्ट संस्थाको रुपमा पुरस्कृत भएको झापाको काकडभिट्टास्थित नेपाल बहुउद्देश्यीय सहकारीलाई नेपाल राष्ट्र बैंकले भने कारवाही गरेको छ । राष्ट्र बैंकले संस्थागत सुशासन विपरित संस्थाले विभिन्न कारोबार संचालन गरेको कारण देखाउदै राष्ट्र बैंकले इजाजत खारेज गरेको हो ।
सहकारी संस्थाले ओभर ड्राफ्ट प्रकृतिको कर्जा दिएको, प्रबन्ध निर्देशक स्वयंमको अचल सम्पत्तिको धितोमा आफु संलग्न रहेको समितिबाट निर्णय गरी कर्जा प्रदान गर्ने, एकाघरका परिवारलाई कर्जा प्रदान गर्ने गरेको राष्ट्र बैंकले कैफियत देखाएको छ ।
यसैगरी संस्थाको दैनिक काममा संचालक समितिका सदस्यहरु संलग्न हुने, राष्ट्र बैंकको स्वीकृति विना शाखा खोली संचालन गर्ने, अन्य सहकारी संस्थालाई आफुमा गाभ्ने, राष्ट्र बैंकको निरिक्षण प्रतिवेदनको वेवास्तागरी प्रतिउत्तर नपठाउने, संस्थागत निक्षेप स्वीकार गर्ने, बिना कुनै नीति तथा योजना अन्य व्यवसाय संचालन गर्ने जस्ता सुशासन विपरितका गतिविधि संचालन गरको राष्ट्र बैंकद्धारा जारी सूचनामा उल्लेख छ ।
२०५० साल फागुनमा डिभिजन सहकारी कार्यालय झापामा दर्ता भएको सहकारीले २०५२ मंसिरमा राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबार गर्ने इजाजत पाएको थियो ।
प्रतिक्रिया