काठमाडौं । बैंकहरुमा कर्जा दिनका लागि चाहिने रकमको अभाव भएपछि निक्षेपको ब्याजदर बढ्दा यसको असर कर्जाको ब्याजदरमा परेको छ । जसले गर्दा ब्याजदर अत्याधिक महंगो हुँदै गएको हो । बैंकबाट कर्जा लिएर व्यवसाय गर्न चाहनेको लागि सबैभन्दा पहिले बैंकको ब्याजदर हेर्नुपर्छ ।
बैंकहरुले प्रकाशित गरेको विवरण अनुसार सबैभन्दा सस्तो ऋण पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकबाट पाइन्छ । वाणिज्य बैंकको कर्जाको आधार दर ५.९५ प्रतिशत रहेको छ । अब वाणिज्य बैंकले प्रकाशित गरेको कर्जाको सूचना अनुसार उसले आधार दरमा न्यूनतममा १ प्रतिशतदेखि अधित्तम ६.५ प्रतिशत जोडेर कर्जाको ब्याजदर तय गर्छ । तपाईले घर बनाउन लाग्नु भएको छ भने बैंकले सस्तोमा ८.९५ प्रतिशत देखि महंगोमा ११.९५ प्रतिशत ब्याजदरमा ऋण दिन्छ । कति अवधीको लागि ऋण लिने हो र त्यस अनुसार ब्याजदर फरक पर्ने गर्छ ।
जस्तो आधार ब्याजदर वाणिज्य बैंकको भन्दा माछापुच्छ्रे बैंकको बढी छ । माछापुच्छ्रेले प्रकाशित गरेको विवरण अनुसार उसको आधार ब्याजदर १०.२९ प्रतिशत छ । माछापुच्छ्रेबाट घर निर्माणको लागि न्यूनतम १२ प्रतिशतदेखि अधिकतम १७ प्रतिशतसम्म ऋणको ब्याजदर पर्छ ।
सरकारी लगानीको वाणिज्य बैंकपछि सस्तो ऋण पाइने अर्को बैंक सरकारी लगानीको नेपाल बैंक हो । नेपाल बैंकको आधार ब्याजदर ६.५९ प्रतिशत छ । त्यसपछि स्टान्डर्ड चार्टर्ड, नबिल, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट, एसबिआई र हिमालयन बैंक छन् । यी सबैको आधार दर १० प्रतिशतभन्दा तल रहेको बताइएको छ ।
बढी ब्याजदर
बैंकहरुका अनुसार अहिले सबैभन्दा बढी सेन्चुरीको आधार ब्याजदर ११.९५ प्रतिशत छ । सेन्चुरीमा ऋण लिन कोही गएमा ११.९५ प्रतिशतभन्दा सस्तो ब्याजदरमा ऋण पाइँदैन । यसमा बैंकले आफुले औसतमा ५ प्रतिशतसम्म स्प्रेड जोडेर कर्जाको ब्याजदर लिन पाउँछ ।
संचालनमा रहेका २८ वटा वाणिज्य बैंकमा १० वटा वाणिज्य बैंकको कर्जाको आधार दर ११ प्रतिशतभन्दा बढी छ । यी बैंकको ऋणको ब्याजदर बढी हुन्छ । १० वटा वाणिज्य बैंकको १० देखि ११ प्रतिशतसम्म आधार दर रहेको छ । यस्तै ८ वटा बैंकको कर्जाको आधार दर १० प्रतिशतभन्दा कम रहेको बताइएको छ ।
प्रतिक्रिया