वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

तिजमा पशुपतिमा जादै हुनुहुन्छ ? यी स्थानबाट बस्नुहोस् लाइन, एक घण्टामा नै दर्शन गर्न सकिन्छ

अर्थटुडे
२०७४ भाद्र ७, बुधबार

काठमाडौं । हिन्दु महिलाहरुको महान् चाड हरितालिका तिजको अबसरमा पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथको दर्शन गर्न जाहनेहरुको लागि व्यवस्थित गरेको छ ।  पशुपति क्षेत्र विकास कोष र नेपाल प्रहरीको सहकार्यमा यस वर्षको तीज मेला गत बर्षको भन्दा निक्कै व्यवस्थित हुने जनाइएको छ ।

तिजको अबसरमा ब्रतालुहरु पशुपति नाथको दर्शनका लागि आउने भएकोले उनीहरुको सुविधाको लागि तीन स्थानबाट दर्शनको व्यवस्था मिलाईएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिब सरेस नेपालले जानकारी दिए । उनका अनुसार पशुपति क्षेत्र विकास कोषले यातायातको सहज व्यवस्थापन गरी एक घण्टाकै समयमा मन्दिर दर्शन गर्न सक्ने तयारी गरिरहेको छ ।

तीजको पूजाका दिन पशुपति नाथको दर्शन गर्न महिलाहरुलाई नै बढी प्राथमिकतामा दिइने गरिएको छ । तीजको दिन नेपाली र विदेशीसहित १० लाखभन्दा श्रद्धालुहरुले पशुपति नाथ मन्दिरको दर्शन गर्ने अपेक्षा गरेको कोषले लिएको सदस्य सचिव नेपालले जानकारी दिए ।

यस बर्ष मन्दिर प्रबेशका लागि भने कुनैपनि विषेष व्यवस्था गरेको छैन । गत सालमा जस्तो एक हजार रुपैयाँको टिकट काट्नेको लागि छुट्टै रुटको व्यवस्था पनि यस बर्ष नगरिएको नेपालले जानकारी दिए । उनका अनुसार यस बर्ष मन्दिर प्रवेशका लागि तीनवटा बेग्लाबेग्दै रुट र एक बटा विषेष व्यक्तित्वका लागि तयार गरिएको छ ।

सदस्यस सचिव नेपालले भने–‘प्रहरीसँगको सहकार्यमा हामीले तीन वटा रुटबाट सर्वसाधारणलाई मन्दिर प्रवेश गराउने व्यवस्था मिलाउँदैछौं । चाबहिल मित्रपार्कबाट उमाकुण्ड, कैलाश हुँदै उत्तरढोका, वाशुकी अगाडी सानो र्भयाङ हुँदै मन्दिर प्रवेश गरेर रुद्रगाढेश्वरबाट बाहिर निस्कने एउटा रुट ।

त्यस्तै जयबागेश्वरी, ईटापाखा, भुवनेश्वर्री याम्पबाट पश्चिम ढोका हुँदै मन्दिर पसेर मूलढोकाबाट बाहिरिने दोस्रो रुट र गौशाला, पिङ्लास्थान, चार शिवालय, दक्षिण ढोका हुँदै चौसठ्ठी मन्दिर प्रवेश गरेर दक्षिणढोकाबाट बाहिरिने तेस्रो रुट हो ।’ विशिष्टको लागि पूर्वी ढोकाबाट भित्र छिर्न सकिने गरी व्यवस्था मिलाइने छ ।

तिजको महत्वः
तीज हिन्दु धर्मावलम्बी महिलाहरुले मनाउने विशेष चार्ड हो । भाद्र शुक्ल द्वीतियादेखि पञ्चमीसम्म चारदिन मनाईने यो पर्वमा पराई घर पुगेका दिदीबहिनीलाई माइतमा लगेर मीठो परिकार (दर) खुवाउने गरिन्छ । त्यस्तै यो पर्वमा महिलाहरुले आफ्ना पतिको दिर्घायु र सुस्वास्थको कामनाका साथ भगवान शिवको पूजा आराधरा गरेर मनाउने गर्दछन् । सरकारले पनि तीजको अवसरमा महिलाहरुका लागि सार्वजनिक विदा दिने गरेको छ ।

तीजको अवसरमा हिन्दु धर्माबलम्बीहरुको प्रशिद्ध धार्मिकस्थल पशुपतिनाथ मन्दिर परिसरमा ठूलो भीड लाग्ने गरेको छ । भगवान शिवको प्रसिद्धस्थलको रुपमा परिचित पशुपतिनाथ मन्दिरमा पूजाआजाका लागि महिलादिदीबहिनीहरु बिहानैदेखि लाइन बस्ने गर्दछन् । निराहार (केही नखाई) ब्रत बस्ने हिन्दु महिला दिदीबहिनीलाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले पनि तीजको अवसरमा विशेष व्यवस्था गराएको हुन्छ ।

 जाम हुन नदिने
तीज मेलामा पशुपति क्षेत्र विकास कोष परिसरको रिङ रोडमा सवारी चलाउन दिने गरी ट्राफिक प्रहरीले तयारी थालेको छ । विगतमा चाहबिलदेखि गौशालासम्मको सडकमा सवारी आवतजावतमा रोक लगाउँदै आएको ट्राफिकले यसपाली चक्रपथमा गाडी सञ्चालन गर्ने जनाएको छ । तर, सार्वजनिक सवारी साधनले बाटोमा धेरै समय पार्किङ गर्न नदिने जनाएको छ ।

निजी सवारीलाई पार्किङको व्यवस्था

मन्दिरको दर्शन गर्न आउनेहरुको सवारीसाधनलाई मध्यनजर गर्दै विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार ट्राफिक प्रहरीसँगको सहकार्यमा भण्डारखाल, तिलगंगा, कोषको कार्यालय र गौशाला प्रहरीको कार्यालय परिसरमा पार्किङको व्यवस्था मिलाइएको छ ।
जसअन्तर्गत नयाँ बानेश्वरबाट एयरपोर्टहुँदै गएका सवारीले तिलगंगामा पार्किङ गर्नुपर्नेछ । चावहित तथा कालोपुल र बत्तीसपुतलीतिरबाट आएका सवारीले सिफर चौरमा पार्किङ गर्नसक्नेछन् । गौशाला प्रहरी परिसरमा भने विशिष्ट पाहुनाका सवारी पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।

विगत भन्दा फरक के के ?
तीज मेलालाई व्यवस्थित गराउने योजनासहित काम गरिरहेको पशुपति क्षेत्र विकास कोषले सकेसम्म थोरै समयमा दर्शन गरेर फर्कने वातावरण मिलाउने गरी काम गरिरहेको छ । लाईनलाई व्यवस्थित बनाइने र लाईनमा उभिएको एक घण्टाभित्र मन्दिरको दर्शन गरी फर्किसक्ने व्यवस्था मिलाउने तयारी भईरहेको सदस्यसचिव नेपालले बताए ।
सदस्यसचिव नेपालका विगतभन्दा केही कुराहरु फरक हुनेछन्
– एक घण्टामा प्रत्येक श्रद्धालुले मन्दिरको दर्शन गरिसक्नेछन् ।
– सवारीसाधनको जाम समस्या हुँदैन ।
– पर्याप्त पार्किङको व्यवस्था हुन्छ ।
– खानेपानीको र शौचालयको राम्रो व्यवस्था हुन्छ ।
– प्राथमिकत स्वास्थ्य उपचार गर्ने टोली मजबुद हुन्छ ।
– स्वयसेवकको व्यवस्थित परिचालन हुन्छ ।
–बृद्धबृद्धको लागि विषेष व्यवस्था

बहुमुल्य गरगहना लगाएर नजान कोषको सुझाव
पशुपति क्षेत्र विकास कोषले बहुमुल्य गरगहना लगाएर तीज मेलामा नजान सुझाव दिएको छ । श्रद्धालुहरु धार्मिक आस्थाका आधारमा मन्दिरको दर्शनका लागि आए पनि अन्य मनस्थितिका मानिसपनि मेलामा आउने भएकाले आफ्नो सुरक्षा आफैं गर्ने गरी व्यवस्था गर्न पनि कोषले आग्रह गरेको छ । त्यस्तै कोषले साना बालबच्चालाई लिएर लाइन बस्नेगरी नआउने पनि आग्रह गरेको छ । बृद्धबृद्धको लागि विषेष व्यवस्था पनि गरिएको नेपालले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ