वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

सहकारीलाई आयआर्जनमा केन्द्रित हुन मन्त्रीको आग्रह

अर्थटुडे
२०७४ भाद्र १८, आईतवार

काठमाडौं । सहकारी तथा गरिबी निवारणमन्त्री अम्बिका बस्नेतले सहकारी संस्थाहरूलाई बचत र ऋण प्रवाहमा मात्र सीमित नभएर आयआर्जनका कार्यक्रममा केन्द्रित हुन आग्रह गरेकी छन् ।

काठमाडौंको गैरीगाउँस्थित नीलो आकाश बचत तथा ऋण सहकारी संस्थाको शनिबार दसौं साधारणसभा उद्घाटन गर्दै उनले आयआर्जनका कार्यक्रम सञ्चालन भएमात्र मुलुक आर्थिक समृद्धितर्फ लाग्ने औंल्याएकी हुन् ।

मन्त्री बस्नेतले सहकारीका सञ्चालक र सदस्यहरूबीच विभेद रहेको, सञ्चालकले मात्र संस्थाको अधिकार लिने गरेको तथा सदस्यहरूमा पनि आफ्नो अधिकारबारे चासो नहुँदा केही व्यक्तिहरुमात्र सबल बन्दै गएको भनाइ राखिन् ।

उनले भनिन्, ‘सहकारीभित्र धेरै विकृति छन् । ती विकृतिलाई निराकरण गर्न चाँडै ऐन आउँदैछ । कोही पीडित छन् भने उनीहरुलाई न्याय हुन्छ ।’ उनले मुलुकका धेरै नागरिक आबद्ध भएको सहकारीले गरिबी निवारण गर्न सक्ने भएकाले अब समृद्धिको पाइलातर्फ लम्किनुपर्ने बताइन् । २०६४ सालमा स्थापित नीलो आकाशमा गत आर्थिक वर्षसम्म ८६३ सदस्य छन् ।

यस्तैसंस्थाले १६ करोड ६ लाख ४५ हजार ५ सय २४ रुपैयाँ कर्जा लगानी गरेको जानकारी संस्थाका अध्यक्ष निमनाथ फुयालले दिए । उनका अनुसार संस्थाले गत आवमा ६३ लाख ९६ हजार ८७ रुपैयाँ नाफा कमाएको छ । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष शान्तप्रसाद तिमल्सिनाले अक्षय कोष स्थापनाका लागि उनका दिवंगत छोरा सौरभ तिमल्सिनाका नाममा ५ लाख रुपैयाँ प्रदान गरेका छन् ।

कार्यक्रममा गत वर्षको एसइइमा सहभागी भएका संस्थाको सदस्यका सन्तानमध्ये उत्कृष्ट नतिजा ल्याउन सफल आयुष्मा घिमिरेलगायतलाई सम्मान गरिएको थियो । यस्तै संस्थाका ज्येष्ठ सदस्यहरु पनि सम्मानित भए ।

 

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ