वि.सं. २०८२ कार्तिक ३
+
Search

ताजा अपडेट +

तरकारी मूल्य +

पपुलर +

२ नम्बर प्रदेशमा एमालेलाई मधेशमा पत्तासाफ गर्नुपर्छ: माओवादी नेता यादव

अर्थटुडे
२०७४ भाद्र २२, बिहीबार

जनकपुर । असोज २ गते हुने प्रदेश नम्बर २ को निर्वाचनमा आ–आफ्नो पार्टीले जित्ने प्रमुख दलका शीर्ष नेताहरुले दाबी गरेका छन् । बिहीबार जनकपुरमा आयोजना गरेको ‘प्रदेश नम्बर २ को निर्वाचन ः दलहरुको सहभागिता’ नामक विशेष अन्तरक्रियामा बोल्दै नेताहरुले यस्तो दाबी गरेका छन् । उनीहरुले निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने जिकिर गरेका हुन् ।

प्रमुख दल नेपाली कांग्रेसका नेता तथा कृषिमन्त्री रामकृष्ण यादवले २ नम्बर प्रदेशमा आफ्नो पार्टी नै पहिलो हुने दाबी गरे । मधेशको विकासको लागि आफ्नो पार्टीले मात्रै काम गरेको उल्लेख गर्दै मन्त्री यादवले थपे,‘कांग्रेस मधेशी जनताको अधिकारको लागि लडेको पार्टी हो, मधेशको विकासको लागि हाम्रो पार्टीजति कसैलेपनि योगदान गरेकै छैनन्, तपाईहरु ईतिहाँस हेर्न सक्नुहुन्छ, त्यसैले यो पटकको निर्वाचनमा जनताले हाम्रो पार्टीलाई अत्यधिक मत दिएर पहिलो बनाउनेछन् ।’

उनले वर्तमान सरकारले जनताको हितको लागि काम गरिरहेको समेत जिकिर गरे । उनले भने,‘अहिलेको सरकार मुलुकको आर्थिक समृद्धिको लागि गम्भिर भएर काम गरिरहेको छ, मुलुक र जनताको विकासको लागि हामीले काम गरेको कुरा जनताहरुले राम्रोसँग बुझेका छन् ।’

सत्तारुढ दल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य झल्कु यादवले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मधेशविरोधी पार्टी भएको आरोप लगाए । उनले थपे,‘एमाले मधेश विरोधी पार्टी हो, मधेशी जनतालाई अधिकारसम्पन्न बनाउन उसले कहिल्यैपनि चाहेको देखिएन्, अहिलेपनि संविधान संशोधनको विरोधमा एमाले उभिएको छ ।’

उनले भने,‘एमालेलाई मधेशबाट पत्तासाफ गर्नुपर्छ, जनताले एमालेलाई राम्रोसँग चिनेका छन्।’ एमाले संघीयता, गणतन्त्र लगायत परिवर्तनको विरोधी भएको समेत उनको आरोप थियो । उनले मधेश र मधेशी जनताको अधिकारको लागि सबैभन्दा धेरै लड्ने र एजेण्डा बोक्ने पार्टी नै आफ्नो पार्टी भएको समेत जिकिर गरे ।

नेपाल लोकतान्त्रिक फोरमका प्रमुख सचेतक योगेन्द्र चौधरीले एमाले संविधान संशोधनको विरोधी पार्टी भएकोले जनताले एमालेलाई भोट दिनै नसक्ने दाबी गरे । उनले भने,‘एमाले मधेशी जनतालाई दिन हुन्न भन्ने पार्टी हो, उसले संशोधनको जहिल्यैपनि विरोध नै गरिरह्यो, उसले संशोधनको विपक्षमा मत हालेको छ, त्यसैले उसलाई जनताले भोट दिँदैनन् ।’

राष्ट्रिय जनता पार्टी नेपालका सह–महामन्त्री रमण पाण्डेले एमाले मधेश विरोधी पार्टी भएको आरोप लगाए । उनले अबको निर्वाचनमा एमालेलाई मधेशी जनताले देखाईदिने चेतावनी दिए ।  उनले एमालेमात्रै नभएर मुख्य दलहरु कांग्रेस र माओवादी केन्द्रपनि मधेश विरोधी पार्टी भएको आरोप लगाए । उनले भने,‘संविधान जारी गर्दा यी तीन ठूला दलहरु मिलेर जारी गरेका हुन्, एउटा पार्टीलाई मात्रै दोष दिनुहुँदैन् ।’

प्रतिक्रिया

लेखकको बारेमा

अर्थटुडे

ट्रेन्डिङ